२१ साउन, घोराही –
५० बेडको रोल्पा अस्पताल भवन सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि ६ महिना समय बढाइएको छ । अत्याधुनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी जयन्ती निर्माणले समयमै काम सम्पन्न गर्न नसकेपछि भवन विभागले म्याद थपेको हो ।
रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधिभित्र काम सम्पन्न गराउन निकै पहल गर्दा पनि ठेकेदार कम्पनीले कम चासो दिएको बताउनुभयो । गत असारमा भवन निर्माण सम्पन्न गरिसक्ने गरी उक्त कम्पनी र सरकारबीच तीन वर्षअघि सम्झौता भएको थियो ।
रोल्पा सदरमुकाम लिबाङको रेउघामा अढाई तलाको अत्याधुनिक अस्पताल भवन निर्माण गर्न सरकारले भ्याटबाहेक २९ करोडको बजेट विनियोजन गरेको थियो । नियमित काम गर्दा पनि कोरोना संक्रमणको प्रभाव र भारतबाट कामदार ल्याउनु पर्ने भएकाले ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बतानुभएको छ ।।