२०८१ चैत्र १० गते आइतवार

दाङबाट १२ हजारभन्दा बढी विद्यार्थी एसईईमा सहभागी



२१ साउन, घोराही –
यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको आन्तरिक मुल्यांकनमा दाङबाट १२ हजार १६६ विद्यार्थी सहभागी भएका छन् । कोरोना महामारीका कारण यस बर्ष पनि आन्तरिक मुल्यांकनका आधारमा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको माध्यमिक शिक्षा परीक्षा बोर्डले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख मित्रप्रसाद गौतमका अनुसार जिल्लाभरबाट एसईईमा सहभागी भएका १ सय २१ संस्थागत विद्यालय र ९९ वटा सामुदायिक विद्यालय गरी २ सय २० वटा विद्यालयका विद्यार्थीको नतिजा रुजु गरी असार अन्तिम साता केन्द्रमा पठाएको हो भने हार्ड कपी साउनको पहिलो साता पठाईएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गौतमले एसईईमा सहभागी भएका विद्यार्थीको कुल संख्या अनुपातमा छात्र भन्दा छात्राको संख्या ५ सय १४ ले धेरै रहेका बताउनुभयो । जसमा ६ हजार ३ सय ४० जना छात्रा एसईईमा सहभागी भएका छन् भने ५ हजार ८ सय २६ जना छात्र रहेका छन् ।

जेठ १३ गतेबाट एसईई परीक्षा गर्ने गरी तालिका सार्वजनिक भएको थियो । तर, कोरोनाको दोश्रो लहर तीव्र रुपमा बढ्दै जाँदा जोखिम बढेको भन्दै बैशाख दोश्रो साताबाट लकडाउन भएपछि परीक्षा स्थगित हुन पुगेको हो । गत वर्षको नतिजा पनि यसैगरी सार्वजनिक गरिएको थियो ।।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्