२०८१ असोज २४ गते बिहिवार

दाङमा किर्ते नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ



२१ असार, दाङ – छोरी ज्वाइँलाई छोरो बनाएर किर्ते गरी नागरिकता दिलाएको आरोपमा दाङमा वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का, सोही वडाका भिमबहादुर कामी र उनकी छोरी सुशीला विक रहेकाछन् ।
उनीहरु तीनै जनालाई आइतबार अपराह्न नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासले जानकारी दिनुभयो ।

श्रीमान-श्रीमती बने दाजु-बहिनी
स्थानीयले किर्ते नागरिकताबारे उजुरी गरेपछि अनुसन्धान गर्दा भिमबहादुर कामीले छोरी ज्वाइँ अर्जुन विकलाई आफ्नो दिवंगत छोरो लिलाराम विकको नामबाट नागरिकता दिलाएको खुलेको खवासले जानकारी दिनुभयो । २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको नागरिकतामा खवासकै हस्ताक्षर छ । ‘कागजपत्र हेर्दा शंका गर्ने ठाउँ कतै देखिँदैन,’ खवासले भने, ‘स्थानीयले तीन दिन अगाडि उजुरी गरेपछि बुझ्दै जाँदा त ज्वाइँलाई छोरो भनेर नागरिकता दिलाउन सिफारिस गरेको पाइयो ।’ यसरी नागरिकता लिएपछि अर्जुन र सुशीला श्रीमान–श्रीमती भए पनि कागजपत्रमा उनीहरु दाजु–बहिनी बनेको पाइएको छ ।

यो काममा भिमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको खवासले बताउनुभयो । नागरिकता सिफारिस गरेकाले वडाध्यक्ष खड्कालाई पनि नियन्त्रणमा लिइएको र उनले गल्ती स्वीकार गरेको खवासले बताउनुभयो । किर्ते नागरिकतामा लिलाराम विक नाम राखेका अर्जुन विक हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको भनेर सुशीलाले बताएको उहाँले बताउनुभयो।

सुशीलाले चितवन घर भएका अर्जुनसँग बिहे गरे पनि घरको पूरा ठेगाना थाहा नभएको वयान दिएकी छन् ।
चितवन प्रशासनसँग पनि समन्वय गर्दै नागरिकता खारेजको प्रक्रियाका लागि सदरमुकाम घोराहीस्थित जिल्ला प्रशासन कार्यालयमा पठाइने इलाका प्रशासन कार्यालय लमहीका प्रमुख खवासले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्