२०८१ असार ६ गते बुधवार

रुपन्देहीमा पुलबाट बस खोलामा खस्दा ९ जनाको मृत्यु, २३ घाइते



२२ जेठ, घोराही –
रुपन्देहीमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका छन्। आज (आइतबार) बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमा क्षेत्रमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ। दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्