२०८१ जेष्ठ ५ गते शनिवार

कटुवाखोला पुलको काम चैत मसान्तसम्म सक्ने लक्ष्य



२२ जेठ, घोराही –
घोराही उपमहानगरपालिका वडा नं १९ कटुवाखोलामा बन्दै गरेको पक्की पुलको काम तीव्र गतिमा अघि बढेको छ । दुइ लेनमा बन्ने घोराही सैघा स्वर्गद्धारी सडकखण्ड जोड्ने कटुवाखोला पक्की पुलको काम तीव्र गतिमा अघि बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा घोराही सैघा स्वर्गद्धारी जोड्ने कटुवाखोला पक्की पुलको टेन्डर परेको थियो । सो पुलको योजना पाँच करोडको भए पनि जय बुद्ध निर्माण सेवा प्रालिले ३ करोड ८२ लाखमा टेन्डर पारेको थियो ।

अहिले उक्त कम्पनीले नै कामलाई तीव्र गतिमा अगाडि बढाएको हो । जय बुद्ध निर्माण सेवा प्रालिले २०७७ सालको भदौँमा ठेक्का सम्झौता गरेको थियो । २ वर्ष भित्रमा निर्माण गरिसक्ने म्याद भए पनि उक्त कम्पनीले २०७८ सालको मसान्त भित्र सम्पन्न गरिसक्ने जय बुद्ध निर्माण सेवा प्रालिका प्रतिनिधि जिवन केसिले बताउनुभयो ।

महामारीको समयमा पनि कामलाई निरन्तरता दिएर अहिले पक्की पुलको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको उहाँले बताउनुभयो । हालसम्म पिलर उठाउने काम सम्पन्न भैसकेको र तटबन्धको काम ७० प्रतिशत सकिएको बताउनु भयो । लुम्बिनी प्रदेशको सडक पुर्वाधार विकास कार्याल दाङ अन्तरगत योजना परेको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि ५० लाख रकम विनियोजन गरिएको थियो । मन्त्रालयले उक्त पक्की पुलको काम अनुगमन गरिपछि कामको तीव्रता र प्रगति देखेर प्रदेश सरकारले रकमान्तर गरेर १ करोड ५० लाख थप गरेको पनि जय बुद्ध निर्माण सेवा प्रालिका प्रतिनिधि केसिले बताउनुभयो ।

उहाँले बजेटलाई फ्रिज जान नदिने र अहिले ३५ प्रतिशत कामको भुक्तानी समेत लिएको बताउनुभयो । घोराही सैघा स्वर्गद्धारी सडकखण्ड जोड्ने ३५ मिटर लामो कटुवाखोला पक्की पुलको शिलन्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले २०७७ मंसिर २५ गते गर्नुभएको थियो । उक्त पक्की पुलको निर्माण पश्चात प्युठान स्वर्गद्धारी आवतजावत गर्ने पर्यटक, बंगालाचुली गाउँपालिकाका स्थानीय, बाम्ला, लिथान,सातम लगायतका जनताहरुलाई आवागमनमा सहज हुनेछ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्