२२ वैशाख, रोल्पा – रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । तालाबाङ बजारमा चुनावी कार्यक्रम सकेर फर्कने क्रममा गएराति झडप भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
झडपमा वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी सामान्य घाइते हुनुभएको छ । अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै उता रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो ।
झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको जीप तोडफोड भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले नुवाकोट प्रहरी चौकीमा थोरै जनशक्ति भएका कारण झडप नियन्त्रणमा लिन गाह्रो भएको बताउनु भएको छ । उहाँले जिल्लाबाट थप सुरक्षाकर्मी झडप भएको स्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।।