२०८१ असार २ गते शनिवार

बुक फ्रिडे फ्राइडे कार्यक्रमको महत्व, आवश्यकता र सार्थकता 



 

समाज विकासको पहिलो आधार नै शिक्षा हो । शिक्षा कस्तो छ, कतिजनाले शिक्षालाई आत्मसात गरेका छन्, शिक्षालाई जीवनउपयोगी, समय सापेक्ष, विषयगत, कामकाजी बनाउन सकिएको छ कि छैन ? भन्ने कुराले नै त्यो समाज कसरी अगाडी बढेको छ, कुन अवस्थामा छ ? भन्ने कुराको निक्र्यौल हुन्छ । यस मानेमा नेपाली समाज यहाँको परमपरागत शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति जस्तै विश्वको तुलनामा धेरै पछाडी छ । नेपाली समाज सबै क्षेत्रमा विश्वमा प्रतिष्पर्धा गर्न सक्ने हैसियतमा आजसम्म पुग्न सकेको छैन । विहान उठे देखि राती सुत्दासम्म मानिसले गर्ने जेसुकै गतिविधिहरुमा पनि नेपाली समाज विश्वका सबैजसो मुलुकहरु भन्दा धेरै पछाडी छ ।

जसले गर्दा नेपालको विकास २० औं शताव्दी भन्दा पनि पछाडी छ । आर्थिक समृद्वि परनिर्भरताको दलदलमा भासिएको छ । यी र यावत कुराहरुलाई विश्लेषण गर्दै पछिल्ला दिनहरुमा शिक्षाको महत्वलाई विषयगत अनि दक्ष जनशक्ति उत्पादन गर्ने र यही जनशक्तिको बलमा विश्वको विकास रफ्तारमा नेपाली समाजलाई उभ्याउने मनसायका साथ राज्यले शिक्षालाई कामकाजी, विषयत, सिपयुक्त, प्रविधिक, जीवनउपयोगी बनाउने योजना अगाडी सारेको छ ।

जसका लागि राज्यले नेपाली शिक्षा नीति, प्रणाली, शिक्षण सिकाई बिधि, पाठ्यक्रमहरु सबै कुरा जो शिक्षासँग सम्बन्धित छन्, ती कुराहरुमा आमूल परिवर्तनको सोँच अख्तियार गरेको छ । तर ५० औं वर्षदेखि नेपालमा विद्यमान शिक्षा नीति अनि यही नीतिले अगाडी सारेको शिक्षा ग्रहण गरेर उत्पादन भएको जनशक्तिलाई एकैपटक विस्थापित गरेर नयाँ जनशक्ति उत्पादन गर्न सक्ने तत्कालै अवस्था छैन । तसर्थ यसको लागि नेपाललाई आवश्यक रहेको कामकाजी शिक्षालाई अगाडी बढाउन पछिल्ला दिनहरुमा बुक फ्रिडे कार्यक्रमहरु सबैजसो विद्यालयमा लागु गर्ने योजना बनाइएको छ ।

यो योजना अन्तगर्त केही पालिकाहरुले आफ्नो कार्यक्षेत्रभित्र बुक फ्रिडे कार्यक्रम लागू गरिरहेका छन् । घोराही उपमहानगरपालिकाले पनि नयाँ शैक्षिक शत्र २०८१ बाट आफ्नो कार्यक्षेत्रभित्र बुक फ्रिडे फ्राइडे कार्यक्रम लागू गर्ने योजना बनाएको छ । यो योजना लागु गरिको दिन अर्थात प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई उनीहरुको रुचीका आधारमा सोही क्षेत्रमा प्रभावकारी तवरले अगाडी बढ्नका लागि विशेष योजना बनाउन बनाउन अब जरुरी छ । यदि कार्यक्रम लागू गर्ने तर त्यसको लाभलाई सदुपयोग हुने गरी अगाडी बढाउन नसक्ने हो भने कतिपय अवस्थामा यो कार्यक्रम बरालिने दिनकारुपमा विकास हुन पनि सक्छ । तसर्थ बुक फ्रिडे फ्राइडे कार्यक्रम के हो, यसको महत्व कति छ ?

यसलाई कसरी बढि भन्दा बढि सदुपयोग गर्न सकिन्छ भन्ने कोणबाट पालिका अनि विद्यालयले विशेष योजना बनाउनुपर्छ । अभिभावकहरुलाई पनि बुक फिडे फ्राइडे कार्यक्रमलाई सफल बनाउन सहभागि बनाउने, बुझाउने काम गरिनुपर्छ ।   नेपालको शिक्षा नीति, कार्यक्रम अनि शिक्षण सिकाई बिधि नै विषयगत शिक्षासँग जोड्नुपर्छ । तर नेपालको शिक्षा नीति अनि शिक्षा प्रणाली सैद्धान्तिक शिक्षणसिकाइमा अल्झिएको छ । यस मानेमा बुक फ्रिडे कार्यक्रमको कुरा गरिरहँदा कतिपयले किताबको प्रयोग बिना यो कार्यक्रम कसरी सफल हुन सक्छ ? भन्ने प्रश्न पनि उठाउन सक्छन् । स्वाभाविकरुपमा पहिलो चरणमा किताब नलगेर विद्यार्थीहरु विद्यालय आउँदा कसरी विद्यार्थीलाई बिजनेश दिने भन्ने कुरा निकै नै महत्वपूर्ण विषय हो ।

यदि यो कुरामा विशेषरुपमा ध्यान दिन सकिएन, योजना बनाउन सकिएन भने बुक फ्रिडे कार्यक्रमको प्रभावकारीता खल्लो हुन सक्छ । यो कुरामा विद्यालय अनि स्वाय पालिका पनि सजग र चनाखो हुनुपर्छ । किताब लगेर विद्यालय आउँदा त विद्यार्थीहरुले ५० औं वर्षदेखि विश्वमा प्रतिष्पर्धा गर्न सक्ने ल्याकत जन्माउन सकेनन् भने किताब बिना विद्यालय आउने विद्यार्थीले कसरी आफ्नो क्षमता विकास गर्न सक्छ भन्नेहरु पनि यतिबेला प्रशस्त छन् । तसर्थ जसले जे भनेपनि, बुझेपनि बुक फ्रिडे कार्यक्रमको उद्देश्य विद्यार्थीमा भएको अन्तरनिहित क्षमता उनीहरुको रुचीका आधारमा बढाउने हो ।

यस अर्थ विद्यार्थीको रुची अनुसारको क्षमतालाई निखारनका लागि किताब नै मुख्य कुरा होइन भन्ने कुरा पालिका अनि शिक्षण संस्थासँग जोडिएका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिले समाजलाई बुझाउनुपर्छ । जस्तो कि बुक फ्रिडे फ्राइडे कार्यक्रमको दिन जोकोही विद्यार्थी विद्यालय आउँछ भने कसरी उसलाई रुची राख्ने विषय वा क्षेत्रमा दक्ष बनाउन सकिन्छ भन्ने कुरा योजनाबद्ध तरिकाले अगाडी बढाउनुपर्छ । यसको लागि विद्यालयले पालिकाको सहयोगमा ठोस अनि उपलव्धी मुलुक योजना बनाउन जरुरी छ ।

बुक फ्रिडे फ्राइडे कार्यक्रम कसरी प्रभावकारी बनाउने ? बुक फ्रिडे कार्यक्रम विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई विकास गर्नका लागि अगाडी सारिनुपर्छ । यो कार्यक्रम तत्कालका लागि हप्तामा एकदिन अर्थात शुक्रबार लागू गरिएको छ । नेपालका केही पालिकाहरुले यसलाई अनिवार्य बनाएका छन् । शिक्षालाई समृद्धि र विकासको मियोकारुपमा स्थापित गर्नका लागि अनिवार्यरुपमा शिक्षा नीतिमा नै आमूल परिवर्तन गरेर विषयगत शिक्षालाई विकास गर्नका लागि अगाडी सारिएको यो कार्यक्रमलाई विद्यार्थीहरुलाई एक दिनमात्र बुक फ्रिडेकारुपमा सहभागि नबनाएर विषयगत किताबहरु नै तयार पारि हरेक दिन यीनै विषयहरुलाई प्रयोगात्मक अभ्यास गर्ने दिर्घकालिन योजना बनाउनुपर्छ । नेपालमा विक्रम सम्बत १९१० मा थापाथलि दरबार स्कूल सञ्चालनमा आएको हो ।

नेपालको शिक्षाको कुरा गरिरहँदा, नेपालमा सबैभन्दा पहिले बि.स.२०१६ साल त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा स्थापना भएको हो ।  त्यसपछि काठमाडौँ विश्वविद्यालय, धुलिखेल, बि.स.२०४८ सालमा, पोखरा विश्वविद्यालय, लेखनाथ बि.स.२०५४ सालमा, पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर–बि.स.२०५२ सालमा,   नेपाल संस्कृत विश्वविद्यालय, दाङ बि.सं २०४३ सालमा, लुम्बिनी विश्वविद्यालय, लुम्बिनी वि.स. २०६० सालमा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, वीरेन्द्रनगर–वि.स.२०६८ सालमा, सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगर– वि.स. २०६७ सालमा, नेपाल कृषि तथा वन विश्वविद्यालय, भरतपुर– वि.स.२०६८ सालमा, नेपाल खुला विश्वविद्यालय ललितपुर– वि.सं. २०७३ सालमा, राजर्षि जनक विश्वविद्यालय, जनकपुर–वि.सं. २०७४ सालमा, गण्डकी विश्वविद्यालय, तनहुँ– वि.सं. २०७६ सालमा, मनमोहन प्राविधिक विश्वविद्यालय, मोरङ– वि.सं. २०७६ सालमा, मधेश कृषि विश्वविद्यालय, सप्तरी– वि.सं. २०७८ सालमा, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, मकवानपुर– वि.सं. २०७९ सालमा, लुम्बिनी प्राविधिक विश्वविद्यालय, बाँके– वि.सं. २०७९ सालमा, मधेश विश्वविद्यालय, पर्सा–वि.सं. २०७९ सालमा स्थापना भएका हुन् ।

यीनै विश्व विद्यालयहरुबाट सम्बन्धन प्राप्त गरेर नेपालमा सयौ कलेज स्थापना भएका छन् । बुक फ्रिडे कार्यक्रम तत्कालिन कार्यक्रम हो । यसलाई तत्कालिन, अल्पकालिन र दिर्घकालिन सोँचसहित अगाडी बढाउन जरुरी छ । देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हो भने यही कार्यक्रमलाई दिर्घकालिन योजनामा ढालेर अनिवार्यरुपमा विषयगत पाठ्यक्रम अनि पुस्तकहरु निर्माण गरी विद्यार्थीलाई रुची र क्षमता अनुसारको क्षेत्रमा अगाडी बढाउने योजनासहित यसलाई अख्तियार गर्नुपर्छ । हालसम्म नेपालमा सामुदायिक र संस्थागत गरी ३५ हजार २० वटा विद्यालय छन् ।

यसैगरी केही भाषागत र मदरसाले पनि आफ्नो सुमदायलाई शिक्षा दिइरहेका छन् । हालको लागि नेपालका ७५३ वटा पालिकाहरुले अनिवार्यरुपमा यो कार्यक्रम आफ्नो कार्यक्षेत्रभित्र रहेका माध्यमिक तहका विद्यालयहरुमा लागू गर्न सक्छ, गर्नुपर्छ । त्यसपछि उच्च शिक्षा हासिल गर्दा क्याम्पसहरुमा पनि यो कार्यक्रम अन्तगर्तको पढाई अगाडी बढाउन सरकारले विशेष नीति र योजना बनाउनुपर्छ । नेपालमा बिक्रम सम्बत १९१० मा पहिलो विद्यालय खुलेकाले १ सय ७० वर्षको यो अबधिमा नेपालको शिक्षाले मुलुकको समृद्धि र विकासमा जबरजस्तरुपमा भूमिका खेल्न नसक्नु दुःखको कुरा हो ।

यसको पछाडी एउटै कारण थियो, नेपालको शिक्षा सिद्धान्तमा आधारित रह्यो । समाजको नेतृत्व गर्न सक्ने, विषयगत शिक्षा आजका दिनसम्म विद्यालयमा लागू भएको छैन । जबसम्म शिक्षा नीतिमा आमूल परिवर्तन गरेर विद्यालयस्तरबाटै विषयत शिक्षाको अबधारणा अनिवार्य बनाउन सकिदैन, तबसम्म समाज विकासमा अर्थपूर्ण अगुवाई गर्ने शैक्षिक जनशक्ति देशले पाउनै सक्दैन । यही कुराको मनन गरी यतिबेला पालिकाहरुले बुक फ्रिडे कार्यक्रम लागू गर्न खोजि रहेका  छन् । नेपालको संविधानले पनि माध्यामिक तह (१ देखि १२ कक्षा) सम्मको शिक्षा स्थानीय तह, प्रादेशिक विश्वविद्यालयहरु  प्रदेश सरकार र विश्व विद्यालयहरु संघिय सरकारको जिम्मा भनेको छ । तसर्थ बुक फ्रिडे कार्यक्रम पालिकाले आफ्नो मातहतका विद्यालयहरुमा लागू गराउन खोजि रहँदा यसको प्रभावकारीताका विषयमा पनि स्वय पालिकानै बढि चनाखो अनि जिम्मेवार बन्नुपर्छ ।

पालिकाको सक्रियता र योजनाका आधारमा विद्यालयहरु अगाडी बढ्नुपर्छ  । बुक फ्रिडे कार्यक्रम लागू गरिरहँदा विद्यालय स्वयमले यसलाई कसरी सिर्जनशील र वहुउपयोगी बनाउने भन्ने कुराको विशेष योजना बनाउन सकेमा अझ राम्रो हुनेछ । घोराहीमा २०८१ सालदेखि बुक फ्रिडे कार्यक्रम लागू हुन लागि रहेको छ । यस अर्थ घोराही उपमहानगर अनि यसको मातहतमा रहेका यहाँका सबै माध्यमिक तहसम्मका विद्यालयहरुले यो कार्यक्रमलाई प्रभावकारी बनाउन हरेक महिना के गर्ने, कसरी अगाडी बढ्ने र यो कार्यक्रम लागू भैसकेपछि विद्यार्थीहरुको क्षमता विकासमा के कस्तो प्रभाव प¥यो, कति उपलव्धी भयो भन्ने किसिमको खाका पनि पालिका अनि विद्यालयले बनाउन जरुरी छ ।

बुक फ्रिडे कार्यक्रमलाई योजनाबद्ध बनाउन सकियो भने विद्यार्थीहरुको अन्तिनिहित क्षमता बढाउँदै हरेक क्षेत्रको नेतृत्व गर्ने हैसियतमा पुराउन सकिन्छ । अहिलेको शिक्षा नीतिमा यदि आमूल परिवर्तन गर्न सकिएन भने पनि माध्यामिक तहको पढाई पुरा गर्ने विद्यार्थीलाई  कुनै न कुनै सिप, क्षमता अनि विज्ञता, दक्षतासँग जोड्न सक्ने काम बुक फ्रिडे कार्यक्रमले गर्नेछ । यसको उद्देश्य पनि यही हो । घोराही उपमहानगरपालिकाले लागू गर्न लागि रहेको यो कार्यक्रम व्यवस्थितरुपमा लागु गर्ने सवालमा योजना निर्माण गर्न सकोस्, सकारात्मक कार्यक्रम लागू गर्न लागिएकोमा घोराही उपमहानगर पालिकालाई धन्यवाद एवं शुभकामना ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्