२३ चैत्र,घोराही ।
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले भोलि राजीनामा दिने भएका छन् । भोली पत्रकार सम्मेलन गरेर राजीनामा दिने र पार्टीको बैठकमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।
आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिन लाग्नुभएको हो ।
कर्णालीमा एमालेले एकल सरकार बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग समेत गरिसकेको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।
यही चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र १ जना राप्रपाका सांसद छन् ।
जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।।