२१ पुस,घोराही –
सरकारले जनकपुर–जयनगर रुटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको झन्डै १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ ।
प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ । सरकारले गएको वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको दुई वटा रेल गएको वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ ।।