बीबीसी –
अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या एकै दिन १० लाख पुगी नयाँ रेकर्ड राखेको सरकारी अधिकारीहरूले बताएका छन् । कोभिडको नयाँ भेरियेन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ ।
डाटाका अनुसार सोमबार मात्र त्यहाँ १० लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन्, त्यो विश्वकै सबैभन्दा उच्च रहेको जोन होप्किन्स युनिभर्सिटीले जनाएको छ । यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियेन्ट फेला परेको बताइएको छ ।
यसरी संक्रमण बढिरहँदा पनि स्कुलहरू खुलाएकामा यति बेला राष्ट्रपति जो बाइडेन सबैतिरबाट आलोचित भइरहेका छन् ।
तर, नयाँ संक्रमित बढिरहेको भए पनि मृत्यु र अस्पताल भर्ना हुनेको दर भने पछिल्ला हप्ताहरूको तुलनामा एकदमै कम रहेको पाइएको छ । यद्यपि, अस्पताल भर्ना हुने क्रम विस्तारै तर निरन्तर बढिरहेको जनाइएको छ ।
डा. एन्थोनी फौसीले संक्रमण उच्च विन्दुमा पुग्ने दिन केही हप्ता मात्र टाढा रहेको चेतावनी दिएका छन् । साथै, उनले खोप नलगाएकाहरू कोभिड–१९ का कारण गम्भीर बिरामी पर्ने ठूलो जोखिममा रहेको पनि बताए ।
बढ्दो संक्रमण संख्याबारे बाइडेनले मंगलबार स्वीकार गरेका छन् । तर पनि अधिकांश अस्पताल भर्ना भइरहेका बिरामी खोप नलगाएकाहरू भएको दाबी गरेका हुन् । साथै, उनले अमेरिकासँग प्रत्येक योग्य नागरिकलाई खोप लगाउन पुग्ने डोज रहेको पनि बताएका छन् ।
उनले भनेका छन्, “हामीलाई थाहा छ बालबालिकाहरू स्कुलमा हुँदा नै सुरक्षित रहन सक्छन् । त्यसैले मेरो धारणामा स्कुलहरू खुला रहनुपर्छ ।”
कतिपय स्टेटहरूले विद्यार्थीहरूलाई र्यापिड टेस्ट गराउनु चुनौतीपूर्ण रहने जनाउँदै अझै केही दिन स्कुल नखोल्ने निर्णय लिएका छन् ।
यता, न्युयोर्क सिटीमा सोमबारदेखि नै विद्यालय खुलाइएको छ । मेयर एरिक एडम्सले स्कुलहरू नै बालबालिकाहरूका लागि सबैभन्दा सुरक्षित स्थल रहेको बताएका छन् । तर पनि रिपोर्टका अनुसार एकतिहाइभन्दा बढी अभिभावकहरूले संक्रमणको डरले बालबालिकाहरूलाई घरमै राखिरहेका छन् ।