१९ मंसिर । ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा एसएसपी जनक भट्टराईले आफ्नो कार्यकाल सुरु गरेका छन् । यसअघिका प्रमुख एसएसपी भीम प्रसाद ढकालको सरुवासँगै उनी महाशाखामा आएका हुन् । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालेको एक सातामै भट्टराईले पिक आवरमा मोबाइल भ्यान चलाउन रोक लगाएका छन् । कार्यालय लाग्ने र छुट्टी हुने समयमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सामान बोक्ने ‘मोबाइल भ्यान’ चल्न नदिइने भट्टराईले बताए ।
शुक्रबार बग्गीखानास्थित आफ्नो कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने, ‘पिक आवरमा मोबाइल भ्यान हटाउने निर्णय गरेको छु, साना–साना प्रयास गरेर जाम घटाउन सकिन्छ भन्ने मलाई विश्वास छ ।’
जोरबिजोर प्रणाली हटाउने औपचारिक निर्णय भएको छैन । तर, व्यवहारमा सो निर्णय कार्यान्वयन भएको देखिँदैन । त्यसैले काठमाडौं उपत्यकामा जाम बढ्दै छ । कोटेश्वर, चाबहिल, कालीमाटी र माछापोखरी क्षेत्रमा आजभोलि अत्याशलाग्दो जाम हुन थालेको छ ।
ट्राफिक बत्तीको संख्या बढाउने र बत्तीको सिस्टम सुधार्नेतर्फ पनि आफू लागिपरेको उनले बताए ।
जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले सचेतना कक्षा दिने तयारी गर्दैछ । आकाशे पुलमुनीबाट बाटो काट्ने समस्याले दुर्घटना बढेको ट्राफिक प्रहरीको विष्लेषण छ । ‘महानगरपालिका र स्थानीय प्रहरीसँग समन्वय गर्दै स्वयंसेवक समेत परिचालन गरेर सचेतना कक्षा दिनेबारे निर्णय गर्दैछु’ भट्टराईले भने ।
निजी र सार्वजनिक सवारी चालक सिटको अगाडि सचेतनामुलक स्टिकर टाँस्ने योजना माहाशाखाले सार्वजनिक गरेको छ ।
उपत्यकाको ट्राफिक जामको समस्या समाधान गर्न यातायात व्यवस्था विगभाले भेहिकल ट्रयाकिङ सिस्टम ल्याउन लागेको बताइएको छ । सो सिस्टमबाट सवारीको गति मापन गर्न मिल्नेछ ।