२०८१ असोज २४ गते बिहिवार

घोराही नगर प्रहरी प्रमुखले पसलमा ढुंगा हानेपछि, प्रहरी हिरासतमा



१९ मंसिर । घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन्। उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो। पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताउनुभयो।

पन्थीले बिहीबार बेलुकी १० बजेतिर घोराही शहिद गेट नजिकैको शर्मा मोबाइल पसलमा ढुंगा हानेको प्रहरीको भनाइ छ।

पन्थीले हानेको ढुंगा लागेर मोबाइल पसल सञ्चालकको टाउकोमा चोट लागेको छ।

‘उहाँले अत्याधिक मदिरा सेवन गरी मोबाइल पसलमा चुरोट माग्न जानु भएको रहेछ,’ एक प्रहरी अधिकारीले भने ‘ पसलेले यहाँ चुरोट पाइँदैन भनेपछि पन्थीले ढुंगा टिपेर हानेछन्।’

पन्थीले आफू नगर प्रहरी प्रमुख रहेकोसमेत मोबाइल पसल सञ्चालकलाई बताएको प्रहरीले जनाएको छ।

‘म नगर प्रहरी प्रमुख हुँ, माथिसम्म चिनजान छ भनेका रहेछन्,’ ती प्रहरी अधिकारीले भने।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। आवश्यक सोधपुछका लागि मोबाइल पसल सञ्चालकलाई पनि आज जिप्रका बोलाएको प्रहरीले बताएको छ।

अनुसान्धानपछि गल्ती गरेको पाइएमा कारवाही गरिने प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

‘नगर प्रहरी प्रमुख हुन् भनेर जोगाउने कुरै आउँदैन,’ उहाँले भन्नुभयो ‘गल्ती गरेको पाइएमा कानुनअनुसार कारवाही गरिन्छ।’ पन्थी प्रहरी हिरासतमा रहेका छन्।

 

 

 

 

स्रोत सेतोपाटी

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्