१८ कार्तिक,घोराही –
दाङका दश वटै पालिकाका सबै वडामा कम्तीमा एक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्थानीय सरकारको गठनपछि नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वास्थ्य इकाई स्थापना गरिएको हो ।
तर आवश्यक भौतिक पूर्वाधारको कमी, कर्मचारीमा आवश्यक तालिमको अभाव लगायतका कारण स्वास्थ्य इकाईबाट प्रदान हुने सेवा गुणस्तरीय हुन सकेको छैन । दाङमा रहेका एक सय वडामा अहिले १ सय १८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् ।
स्थानीय सरकार गठन हुनु अघिसम्म दाङमा ४० वटा मात्रै सरकारी स्वास्थ्य संस्था रहेकोमा बितेको चार वर्षको अवधिमा ७५ वटाभन्दा बढी स्वास्थ्य संस्था थपिएका छन् । नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन पालिकाहरुले गरेको प्रयासकै कारण हरेका वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहिले बताउनुभयो ।
स्वास्थ्य संस्थाहरु खोल्ने र करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने तर उनीहरुलाई आवश्यक तालिम, उपकरण र भौतिक पूर्वाधार उपलब्ध नहुँदा सेवाको गुणस्तरमा खासै सुधार आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सीता कुँवरको भनाइ छ ।।