१९ कार्तिक । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा दाङमा प्रत्येक पालिकामा ५ देखि १० बेडको अक्सिजनसहितको (आइसोलेसन) बेड निर्माणको कार्य थालिएको छ। जसकालागि संघीय सरकारले प्रत्येक पालिकालाई १० लाखका दरले बजेट समेत पठाएको छ । दाङका १० पालिका मध्ये कुनैमा आइसोलेसन बेड निर्माणको कार्य थालिएको र कुनैमा निर्माण भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो ।
उहाँले दंगीशरणमा अक्सिजनसहितको ५ बेडको आइसोलेसन निर्माण भइसकेको जानकारी दिँदै अन्य पालिकामा पनि निर्माण गरिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले भने ५ बेडको आइसीयु बडे नै निर्माण गर्ने भएको छ । दाङमा अहिले प्रदेश सरकारले स्थापना गरेको बेलझुण्डी आइसोलेसन अस्पतालमा मात्र ५ बेडको आइसियु बडे रहेको छ । कोरोना संक्रमित बढ्दै जाँदा यो आइसीयु बेड अपुग हुनसक्ने भन्दै तुलसीपुरले राप्ती प्रादेशिक अस्पतालमा ५ बेडको आइसीयु निर्माण थालेको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी जयनाराण आचार्यले जिल्लामा कोरोना नियन्त्रणका लागि थप कदमहरु चालिएको बताउनुभयो । ‘कोरोना नियन्त्रणका लागि जिल्लाका सरकारवाला निकायसँग भर्खर मात्र छलफल पनि भएको छ’, उहाँले भन्नुभयो, ‘थप आइसियु बेड निर्माणदेखि जनचेतना जगाउने कार्यक्रम गरिने छ।’ समुदायमा संक्रमण थप नफैलियोस् भन्ने उद्देश्यले संक्रमितले आइसोलेसनमा रहंदा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डका वारेमा जनचेतना जगाउने, थप परिक्षण बढाउन र रिपोटिंङ गर्ने, उपचारकालागि आवश्यक आइसीयु बेडसँगै भेन्टिलेटर निर्माण गर्ने तयारी थालिएको आचार्यले बताउनुभयो ।
कोरोना जोखिम छ सतर्क रहनुस्
कोरोना जोखिम रहेको भन्दै सरकारवाला निकायले नागरिकलाई थप सतर्क रहन आग्रह गरेका छन् । ‘कोरोना केहि होइन भन्ने होइन जोखिम तिब्र छ’ स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले भन्नुभयो, ‘यो कुरा कोरोना लागेकालाई मात्र थाहा छ।’ उहाँले गाउँ(गाउँमा कोरोना पुगेकोमा चिन्ता ब्यक्त गर्दै आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभयो । ‘कोरोना फैलनुमा केहि सरकारको निर्देशिकाले पनि काम गरेको होला’, उहाँले भन्नुभयो, ‘तर नागरिक सचेत नबन्दा यो अवस्था आएको हो ।’
यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य मापदण्ड अपनाउन प्रचार(प्रसार गरिहेको बताउँदै संक्रमणलाई नियन्त्रण गर्न कामहरु भइरहेको बताउनुभयो । यस्तै तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन केसीले कोरोना टोलटोलमा पुगेको भन्दै एक चरणमा फेरी लकडाउन गर्नु पर्ने अवस्था आएको धारणा राख्नुभयो । ‘कोरोना गाउँ(गाउँमा पुगेको छ, पछिल्लो समय जिल्लामा दैनिकजसो एकरदुई जनाको मृत्यु समेत भएको छ’, उहाँले भन्नुभयो, ‘यसलाई नियन्त्रण गर्न एक चरणको लकडाउन गर्न आवश्यक छ।’ उहाँले स्वास्थ्य मापदण्ड पालना हुन नसक्दा नै कोरोना जोखिम तिब्र भएको बताउनुभयो । ‘यो अवस्था आउँछ भनेर हामीले पहिल्यै भनेको हो’ केसीले भन्नुभयो, ‘यस्तै हुने हो भने पछिको स्थिति थेग्न नसकिने देखिन्छ ।’