२०८२ बैशाख १२ गते बिहिवार

भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाण्डौँमा



१९ कार्तिक । भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाण्डौ आइपुग्नुभएको छ । भारतीय वायु सेनाको विमानमार्फत उहाँ केहीबेरअघि काठमाण्डौ आइपुग्नुभएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ ।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ । भोलि भने उहाँ दिनभर नै व्यस्त हुनुहुनेछ ।

नरभणेलाई भोली बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ । त्यही दिन उहाँले राष्ट्रपति भण्डारीसँग र स्वदेश फर्किनुअघि शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । नरभणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ । भारतीय सेनाध्यक्षकी पत्नी एवं त्यहाँको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष विना नरभणेले प्रधानसेनापति थापापत्नी एवं सैनिक श्रीमती संघका अध्यक्ष दीपा थापासँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्र्नुहुनेछ । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नरभणेको भ्रमण नियमित तथा परम्पराको निरन्तरता भएको बताउनुभएको छ ।

बिहीबार प्रधानसेनापतिसँग हुने द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । मंगलबार भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जारी गर्नुभएको प्रेस नोटमा दुई देशबीच रक्षा साझेदारी बढाउने विषयमा छलफल गर्ने गरी सेनाध्यक्ष नरभणेको भ्रमण हुन लागेको उल्लेख छ । नरभणेको भ्रमणका विषयमा दुवै देशमा चासो बढेको छ । सेनाले नियमित र परम्पराको निरन्तरता भनेपनि यस भ्रमणलाई महत्वका साथ हेरिएको छ । यसअघि परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ ।भारतीय प्रधान सेनापति नेपाल आउनुअघि बिहान उहाँहरुबीच भेटघाट भएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राजदूत क्वात्राले भेटका क्रममा नेपाल–भारत सहकार्यमा भइरहेको प्रगतिबारे कुराकानी भएको जानकारी गराउनुभयो ।उहाँले पौडेललाई परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा बधाई पनि दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्