१८ असोज, सल्यान –
सल्यानका विभिन्न बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्ला स्थित नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन गरेको हो । सोमबार कपुरकोट र लुहाम बजार अनुगमन गरिएको सल्यान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए । टोलीले खाद्यान्न, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । सोमबार मात्रै १७ वटा पसलमा अनुगमन भएको छ ।सो क्रममा ९ हजार ३ सय २० रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरिएको खड्काले बताए ।
कपुरकोटबाट ६ हजार ३ सय ३५ र लुहाम बजारबाट २ हजार ९ सय ८५ रुपैयाँ बराबरको म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरिएको थियो । यस अघि जिल्लाका अन्य बजारहरु सल्लीबजार, श्रीनगर, थारमारेमा पनि अनुगमन गरिएको सहायक प्रमुख खड्काले बताए । अनुगमनको क्रममा अधिकांश पसलमा मुल्य सुची नराखेको, म्याद गुज्रेका सामग्री भेटिएको तथा धेरैले आफ्नो व्यवशाय दर्ता नविकरण नगरेको पाइएको थियो । अनुगमन टोलिले सम्बन्धीत निकायमा व्यवशाय दर्ता तथा नविकरण गर्न सुझाव दिनुका साथै उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको खड्काले बताए ।
व्यवसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापको नियमन गर्नका लागि बजार अनुगमन गर्ने गरिन्छ । चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद नाघेका अखाद्य वस्तु बेच्ने गरेको भन्ने गुनासो आउने भएकाले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।