१९ भदौ, घोराही –
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४ सय शैयाको अस्पताल बनाउने र त्यसका लागि पूर्वाधार निर्माण गरिने भएको छ । प्रतिष्ठानको काठमाडौमा बसेको चौथो सभा बैठकले आर्थिक वर्ष २०८१/८२ भित्र ४ सय शैया बनाउने निणर्य गरेको हो ।
वैठकले लोकसेवा आयोगसँग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरु सेवा शर्त नियमावली २०७८’लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरबन्दीहरुको पदपूर्ति गर्दै जाने निणर्य भएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिनुभयो ।
सभामा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले प्रतिष्ठानको आवश्यक विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भौतिक पुर्वाधारको यथाशीघ्र विस्तार गरि शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा विस्तार गर्न आवश्यक बजेटको श्रोत सुनिश्चित गरिने बताउनुभयो ।।