२०८२ बैशाख १० गते मङ्गलवार

दाङमा पहिलो पटक सबै पालिकाद्वारा घुम्ती समन्वयात्मक बैठक शुरु



१९ साउन, घोराही – दाङका १० वटै पालिकाले पहिलो पटक घुम्ती समन्वयात्मक बैठक शुरु गरेका छन् । जिल्ला समन्वय समिति दाङको आयोजनामा आजबाट सबै पालिकाका जनप्रतिनिधिहरुसँग अनुभव आदानप्रदानसहित समन्वयात्मक बैठक आज दंगीशरण गाउँपालिकाबाट शुरु गरिएको छ ।

समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको बैठकले पालिका पालिकाबीचको सम्बन्ध बलियो बनाउन तथा असल अभ्यासलाई अरु ठाउँमा पनि कार्यान्वयन गर्न सहज होस् भन्दै अनुभवमा आधारित बैठकको थालनी गरिएको हो । पालिकाका जनप्रतिनिधिहरुले आफ्नो पालिकामा अहिलेसम्म गरिएका असल अभ्यासका बारेमा जानकारी गराउनुका साथै व्यवहारिक कठिनाईका बारेमा सहजीकरण गर्न अपिल गर्नुभएको थियो । सो अवसरमा, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले विद्यालयमा खानेपानी र शौचालय व्यवस्थित गर्न कार्यपालिकाबाट पहिलो निर्णय भएको बताउनुभयो ।

यस्तै, उहाँले कृषिमा आधुनिकिकरण, न्यायीक समितिको पनि छलफल गर्दै काम गरिरहेको बताउनुभयो । उहाँले घोराहीमा स्वास्थ्य र शिक्षालाई पनि विशेष प्राथमिकता दिँदै काम अघि बढाएको जानकारी गराउनुभयो । अब जिल्लाका सबै पालिका मिलेर समृद्ध जिल्ला बनाउन भावनात्मक एकता गरेर अघि बढ्न आग्रह गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी स्यानी चौधरीले पालिकामा अहिले पनि छाडा गाईको समस्या रहेको बताउनुभयो ।

यसको समाधानका लागि सबैले पालिकास्तरमा छलफल चलाउँदै निकास खोज्न आग्रह गर्नुभयो । गुणस्तरीय र निशुल्क शिक्षाको ब्यबस्थापन गर्नुपर्नेमा आफ्नो विशेष जोड रहेको बताउँदै उहाँले बहुआयामिक संग्रहालयलाई दाङमा ब्यबस्थापन गर्नु अवस्यक रहेको पनि चर्चा गर्नुभयो । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले सरकारी कार्यालय र विद्यालयमा जंक फुड निशेष गर्दै स्वस्थ नागरिक उत्पादनमा जोड दिएको बताउनुभयो ।

बैठकमा जिल्लाका अरु पालिकाका प्रमुख, उपप्रमुखहरुले पनि आफ्नो पालिकामा गरिएको असल अभ्यासको बारेमा अनुभव साट्नु भएको थियो । अब हरेक महिनाको १९ गते अन्तरपालिका बैठक बस्ने गरी निर्णय गरिएको हुँदा पालिकास्तरमा प्राप्त गरिएका उपलब्धीसँगै चुनौति समाधानका बारेमा छलफल गर्ने सहमति पनि भएको छ ।

जसका लागि आगामी बैठक भदौ १९ गते राप्ती गाउँपालिकामा बस्ने निर्णय भएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पालिकाबीच सम्बन्ध बलियो बनाउन तथा जिल्लाको विकासका लागि सुरक्षा व्यवस्थालगायत कर्मचारी प्रशासनबाट हुने कामलाई थप स्तरीय बनाउन पहल हुने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्