२१ बैशाख,बैतडी । बैैतडीको पञ्चेश्वर गाउपालिकामा पोष्टमार्टमका लागि शव बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ । मंगलबार दिउँसो से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउपालिका–६ को गणमेश्वर मोडमा दुर्घटना हुँदा चालकसहित ५ को मृत्यु भएको हो ।
४ जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, चालकको भने उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
मृत्यु हुनेहरुमा चालक तेज भण्डारी, पञ्चेश्वर गाँउपालिका–६ का अन्दाजी ३० वर्षीय डम्मर सिह भण्डारी, ५० वर्षीय जित सिह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिए ।
उक्त जीपमा सवार अन्य ५ जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइदै छ । हिजो राति वडा नम्बर ६ कै वडा सदस्य गाबिन्द सिह भण्डारीको मृत्यु भएको थियो । उनकै शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा जीप दुर्घटनामा परेको हो ।