२१ चैत, घोराही –
तुलसीपुर–घोराही मुख्य सडकखण्ड अन्तर्गत पर्ने पत्रेखोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष ०७१–०७२ मा सम्झौता भएर निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गर्ने गरी शंकरमाली निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।
पुल नबन्दा घोराही–तुलसीपुर सडकखण्डमा दैनिक ओहोरदोहोर गर्ने सवारीसाधन र पैदलयात्रुले सास्ती व्यहोर्दै आएका छन् । पत्रेखोलामा वर्षाको महिना खोलामा पानीको बहाव बढ्ने भएपछि उक्त सडकखण्डमा दैनिक आवतजावत र आवागमनमा घन्टौं ठप्प हुने गर्दछ ।
सडक डिभिजन कार्यालय दाङका अनुसार २०७१ देखि निर्माण कार्य सुरु गर्दा पुलको डिजाइन नमिलेको भन्दै निर्माण कार्य लामो समय रोकिएको थियो । निर्माण कार्य सुरु भएको करिब चार वर्षपछि मात्र पुलको नयाँ डिजाइन आएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर अमिर सुवेदी बताउँहुन्छ
पुलको नक्सा आइसकेपछि सडक डिभिजनले उक्त पुल पुनः सम्झौता गरेर सोही कम्पनीलाई नै निर्माण जिम्मा दिएर काम सुरु गराइएको इञ्जिनियर सुवेदी बताउनुभयो । सम्झौता अनुसार साढे ३ करोडमा लागत रहेको पुलको निर्माणको म्याद चैत मसान्तसम्म छ । अबको १० दिनभित्रै निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।
यता, सडक डिभिजन कार्यालयले पुल निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँछ । हालसम्म उक्त पुलको काम ८५ प्रतिशत पूरा भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर सुवेदीले बताउनुभएको छ । उहाँका अनुसार पुलको सबै काम सम्पन्न भएर एप्रोच निर्माणको काम बाँकी छ । उक्त पुल ४० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको रहेको छ ।।