२०८१ जेष्ठ ३० गते बुधवार

थारु भाषाको पत्रकार आचारसंहिता जारी, ‘लेखपढको अभ्यास बढाउन आवश्यक’




२१ चैत,घोराही – प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरी लोकार्पण गरेको छ । प्रेस काउन्सिल नेपालले आज दाङको घोराहीमा गरेको कार्यक्रममा थारु भाषाको पत्रकार आचारसंहिताको लोकार्पण गरिएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उक्त आचारसंहिता पुस्तकको लोकार्पण गर्नुभएको हो ।

नगर प्रमुख चौधरीले थारु भाषामा लेखपढको अभ्यास बढाउन आवश्यक रहेको भन्दै उपमहानरपालिकाले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि ब्यवहारमा लागु गर्न चुनौती देखिएको बताउनुभयो । उपमहानगरपालिकाले थारु भाषामा पाठ्यक्रम तयार पारेको भन्दै उहाँले आगामी शैक्षिक सत्रदेखी ऐच्छिकरूपमा पठनपाठनमा ल्याउने तयारी भएको बताउनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले थारु भाषा लोप हुदै जान थालेको बताउनुभयो । बाह्य संस्कृतिको अनुशरण गर्नुले पनि भाषा र संस्कृतीमा चुनौती थपिएको भन्दै उहाँले भाषा, कला संस्कृतीलाई बचाउन सञ्चार क्षेत्रको ठुलो भूमिका हुने बताउनुभयो ।

काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीले पत्रकार आचारसंहिताको कार्यपत्र प्रस्तुत गर्दै पत्रकार र सञ्चार माध्यमले सत्यतथ्य र सन्तुलित सामग्रीको सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. कृष्णराज सर्वाहारीले थारु भाषाको सञ्चार माध्यमहरू खुम्चिदै गएको बताउनुभयो । २ सय बढी थारु पत्रकारहरू रहेपनि सञ्चार माध्यम सामूहिकतामा जान नसक्दा चुनौती थपिएको उहाँको भनाइ छ । कार्यक्रममा थारु भाषाको पत्रकारिताको इतिहासका बारेको आधार पत्र डा. कृष्णराज सर्वहारीले प्रस्तुत गर्नुभएको थियो । पत्रकार लक्की चौधरीले तयार पर्नुभएको थारु भाषाको पत्रकारिता र पत्रकारका आचारसंहिता विषयक कार्यपत्र काउन्सिलका सदस्य शरद अधिकारीले प्रस्तुत गर्नुभयो ।

यो कार्यपत्रको टिप्पणि महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख समेत रहनुभएका लौह अग्रासन साप्ताहिकका प्रधान सम्पादक के वि चौधरीले गर्नभएको थियो । काउन्सिलका सदस्य अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण काउन्सिलका प्रवक्ता दीपक खनालले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्