१८ मंसिर,दाङ – रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । सानीभरी गाउँपालिका ५ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा हार भएपछि माओवादी कार्यकर्ताले खुकुरी प्रहार गरेर तीन जना कांग्रेस कार्यकर्तालाई घाइते बनाएका हुन् ।
नेपाली कांग्रेस रुकुम पश्चिमका अनुसार आइतबार राति सानीभेरी गाउँपालिका ५ को घ्युढुंगामा माओवादीले हरितयारसहति कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणमा परेर कांग्रेस कार्यकर्ताहरु वडा नम्वर ५ का २४ वर्षीय अजय बाँठा मगर, २३ वर्षीय पुष्प पुन मगर र २२ वर्षीय किरण पुन मगर घाइते भएका छन् ।
कांग्रेस जिल्ला सभापति प्रेम प्रकाश ओलीले घाईते तीन जनाको उद्धार गरेर सदरमुकामस्थित साझा मुराल अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताए । नेपाली कांग्रेस रुकुम पश्चिमले एक विज्ञप्ति प्रकाशन गरेर चुनावमा पराजित भएपछि माओवादीहरुले हतियारसहित कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जनाएको छ । कांग्रेसले घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
घाइतेहरुका अनुसार माओवादी अगुवा नेता गोर्ख कुसारीको निर्देशनमा वाईसीयलका गोविन्द ओली, डिल्ली परियार, बालकुमार नकाल लगायतको टोलीले खुकुरी, लाठी र ढुंगा प्रहार गरेर आक्रमण गरेका थिए । जिल्ला प्रहरी कार्यालयले आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले गएराति नै दुई जना माओवादी कार्यकर्ता पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका ३ का बालकुमार नकाल र चौरजहारी नगरपालिका ४ का प्रदिप मल्ल रहेकाे प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार