२०८२ बैशाख ९ गते सोमवार

तुलसीपुरमा स्मार्ट छोरी कार्यविधि पारित

जन्मेदेखि २० वर्षसम्म छोरीको बैक खातामा मासिक १ सय


१८ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैक खातामा रकम जम्मा गर्ने भएको हो । कार्यपालिकाको ९५ औ बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वजेट समेत विनियोजन गरिसकेको छ ।
कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको र्बैक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् ।

कार्यविधि केही ढिला पारित भएको भएपनि पहिलेदेखि नै यो कार्यक्रम लागु हुने उनको भनाई छ ।
कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘घटना दर्ता अनिवार्य गर्नुपर्नेमा कतिपय अभिभावकले विनाकारण ढिला गर्ने गरेको पाइन्छ यसले केही सुधार हुने देखिन्छ’ शर्माले वताइन् ।
कार्यक्रममा समावेश हुनका लागि उपयुक्त बालिकाको अभिभावकले बैकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैया र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ ।

उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ । ‘विचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुनेछ ’ उपप्रमुख शर्माले वताइन् । तत्काललाई मासिक १ सय रुपैया जम्मा गर्ने भएपनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम वढाइने समेत उनको भनाई रहेको छ ।
कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पुरापुरा दिनुपर्ने उल्लेख छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्