१८ कार्तिकब । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज राति हुँदैछ । वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।
विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए तापनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ । बितेको आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो संक्रमणले गाँजेको छ । कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । आज निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने जनाइएको छ । सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत् गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन् ।