२०८१ फाल्गुन ४ गते आइतवार

“प्रचण्डकै कारण पार्टीमा विवाद सिर्जना भएको हो” : सचिवालय सदस्य ईश्वर पोखरेल



१८ कार्तिक । पार्टीभित्र देखिएको विवादका बारेमा सत्तारुढ नेकपाका शीर्ष नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा समिकरण बनाउने खेल चलेका कारण विवाद उत्कर्षमा पुगेको बताएको छ । भने अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीका निर्णय कार्यान्वयन नगर्ने बरु पार्टी फुटाएर जाने धम्की दिएका कारण समस्या उत्पन्न भएको बताएको छ ।

नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको उप प्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलको भनाइ छ ।पार्टी एकता गर्दाभएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुने पनि पोखरेलको भनाइ छ । प्रधानमन्त्रीलाई छिर्के लगाउने खेल खेलियो भने समस्या झन् झन् बल्झिने पोखरेलको टिप्पणी छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने धारणा राख्नुभएको छ । प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरूसँग भएको छलफलपछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओली बीच कुनै संवाद हुन नसकेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्