१८ भदौ,काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । निर्वाचन समितिका अनुसार आज ४५ जिल्लामा अधिवेशन हुने छ । २१ जिल्लाको सदस्यता विवाद टुंगो लाग्न सकेको छैन ।
बाँकी जिल्लाका वडामा भदौ २६ भन्दा अगाडि नै अधिवेशन गरिसक्नु पर्ने छ । भदौ २७ गते गाउँ/नगर अधिवेशन गर्ने कार्यतालिका छ । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदान गर्छन् । वडा अधिवेशनबाट वडा कमिटी र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् । केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने छ । पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा कांग्रेस सभापित शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । सामाजिक दूरी कामय गरी अधिवेशनमा सहभागि हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा कांग्रेस सभापित शेरबहादुर देउवाले व्यक्त गरेको शुभकामना
आदरणीय साथीहरू
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रकृया आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरु, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु l
संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच हामीले शुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।
आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु ।
लोकतन्त्रको पर्यायको रुपमा रहेको हाम्रो पार्टी नेपाली काग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडी छ ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन-जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागि हुन अनुरोध गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।
कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै कांधमा आएको छ । म तपाईहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहान्छु ।
हामी १४ औ महाधिवेशन मार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमीई सकेका छौ । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गांस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ति सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।
अन्त्यमा आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागि सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु l
धन्यवाद ।
जय नेपाल ।