२०८२ बैशाख १० गते मङ्गलवार

दाङका विद्यालयमा पनि भौतिक रुपमै कक्षा संचालन गर्ने तयारी



 

१८ भदौ,घोराही –

कोरोनाका कारण प्रभावित बनेका दाङका विद्यालयमा पनि भौतिक रुपमै कक्षा संचालन गर्ने तयारी थालिएको छ । लामो समयदेखि भौतिकरुपमा कक्षा सञ्चालन हुन नसकेका दाङका विद्यालयहरुले भौतिकरुपमा नै कक्षा सञ्चालन गर्ने तयारी थालेका हुन । जिल्लाका स्थानीय तहहरुले भौतिकरुपमा नै विद्यालय खोल्नको लागि छलफल सुरु गरेका छन् ।

घोराही उपमहानगरपालिकाले विद्यालय भौतिकरुपमा नै सञ्चालन गर्न तयारी गरीरहेको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभयो ।

त्यस्तै शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाको शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

कोरोनाको महामारी घट्दै गएकाले आगामी सातादेखि सबै विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले जानकारी दिनुभएको छ ।।

यस्तै, तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा विद्यालय खोल्ने विषयमा बृहत छलफल भएको छ । सामुदायिक र निजि विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, विपद व्यवस्थापन, प्रशासन, स्वास्थ्य व्यवस्थापन,एन प्याब्सन एवं प्याब्सन लगाएतको सरोकारवालाहरुको उपस्थितिमा आयोजित बैठकमा विद्यालय कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरिएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिनुभयो ।सम्भवत तिज पछि विद्यालय खोल्ने विषयमा छलफल भएको छ ।

कोरोना माहामारीको दोस्रो लहरका कारण गएको बैशाख ९ गते देखी विद्यालयहरु भौतिक रुपमा बन्द भएका छन् । त्यस्तै उता, राप्ती गाउँपालिकाले पनि भौतिकरुपमा विद्यालय सञ्चालन गर्न तयारी गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न तयारी भइरहेको बताउनुभयो । कोरोना जोखिम कायम भएता पनि संक्रमणदर कम भएकाले सवै क्षेत्र खुला भएको अवस्थामा अब विद्यालय पनि संचालन गर्ने तयारी थालिएको हो । केहि समय अगाडि पनि प्युठान, रुकुम पश्चिम लगाएतका छिमेकी जिल्लाले भौतिक रुपमै पठनपाठन संचालन गरिसकेका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्