२०८१ माघ ४ गते शुक्रवार

सम्झौताको मितिमा पुल नबन्दा नागरिकलाई सास्ती



१८ भदौ,घोराही –
दाङका खोलामा समय मै पुल निर्माण नहुदाँ नागरिकहरूले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् भने अकालमा ज्यान समेत गुमाउने गरेका छन् । घोराही–तुलसीपुर सडक खण्डमा पर्ने पत्रे खोलाको पुल र घोराही लमही सडक खण्डमा पर्ने सिस्ने खोलाको निर्माणाधीन पुल अझै सम्पन्न भएको छैन । तुलसीपुरदेखि घोराहीसम्मका खोला मध्ये पत्रे खोला र सिस्ने खोलामा पुल निर्माण सुरु भएको लामो समय हुँदा पनि सम्पन्न भएको छैन भने हापुर र सेवार खोलामा पुल नै छैन ।

सिस्ने खोलामा मोटरेबल पुल निर्माण थालेको चार वर्षभन्दा बढी भए पनि अहिलेसम्म पुल सञ्चालनमा आउन सकेको छैन । ठेकेदार, सडक डिभिजन कार्यालयको लापरबाहीका कारण समयमा पुल नबनेको स्थानीय रेशमलाल अधिकारीले बताउनुभएको छ ।

सिस्ने खोलामा पुल बनाउन साढे चार वर्षअघि १८ महिनामा काम सक्ने गरी साढे सात करोड रुपैयाँमा एडभेन्चर जेभीले ठेक्का लिएको थियो । १८ महिनामा सक्ने भनिएको पुलको काम ४ वर्ष सम्ममा करिब ९० प्रतिशत सकिएको छ ।

त्यस्तै, घोराही–तुलसीपुर सडक खण्डको पत्रे खोलामा पनि पक्की पुल बनाउन ६ वर्षअघि १७ महिनामा काम सक्ने गरी साढे तीन करोड रुपैयाँमा शंकर मालि निर्माण कम्पनीले ठेक्का लिएको थियो । पुल निर्माणको काम अहिले ९५ प्रतिशत सकिएको छ । बाँकी पाँच प्रतिशत काम पूरा नहुँदा यातायातका साधन खोलाबाट आउजाउ गर्न बाध्य भएका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्