२०८१ साउन ५ गते शनिवार

तुलसीपुरमा युवाहरुका लागि व्यवसाय योजना निर्माण सम्बन्धि तालिम सुरु



१९ असार, तुलसीपुर-दाङको तुलसीपुरमा २ दिने युवाहरुका लागि व्यवसाय योजना निर्माण सम्बन्धि तालिम सुरु भएको छ । नगर स्तरीय युवा संजाल तुलसीपुरका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा गी्रन फाउण्डेशनका अध्यक्ष घन श्याम पाण्डेको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिम उद्घाठन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले युवाहरुलाई लक्ष्य निर्धारण गर्न सुझाव दिनु भएको छ । उहाँले लक्ष्य निर्धारण नगर्दा भविष्यमा सफल हुन नसकिने भन्दै लक्ष्य निर्धारण गरेरसोही लक्ष्य प्राप्तिका लागि संघर्ष गर्न सुझाव दिनु भएको हो ।

लक्ष्य विनाको जीवन अन्धकारमय हुने भएकाले निश्चित लक्ष्य लिएर अगाडि बढेमा सफल र सक्षम व्यक्ति बन्न सकिनेमा उहाँले जोड दिनुभयो । लक्ष्य निर्धारण गर्ने महत्वपूर्ण र सबै भन्दा ठूलो चिज सोच, मानसिक चिन्तन अथवा मन रहेको बताउँदै स्थिर राख्नु पर्ने बताउनु भयो । जसलाई जे गरेको देख्यो आफूले पनि त्यही गर्नु पर्छ भन्ने नभएर अरु भन्दा फरक भएर एउटा मात्रै सोच बनाएर मेहनत गरेमा लक्ष्य पुरा गर्न सकिने बताउनु भयो ।

‘मान्छेका हातखुट्टा, आँखा, कान भनेका सहायक हुन्, उहाँले भन्नुभयो– सबै भन्दा प्रवल र महत्वपूर्ण चिज मानसिक सोच, चिन्तन हो ।’ साँच्चिकै समाज रुपान्तरण गर्न, समाज बदल्न र आर्थिक अवस्थालाई मजबुत बनाउन युवाहरुलाई व्यवसाय गर्नेतर्फ अग्रसर हुन सल्लाह दिनु भएको छ । यदि लगानी लगाउन सकिदैन भने मेहनतका साथ अध्ययन गरेर विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु रहेको भन्दै त्यहाँ रोजगारी गर्न सकिने उहाँको सुझाव थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारी, तुलसीपुर ६ का वडा अध्यक्ष दुजमान भण्डारी (वर्षात) लगायतले बोल्नु भएको थियो । तालिमको प्रशिक्षकमा सुरेश कुमार रावत र दिपक परियार रहनु भएको छ ।

तालिम अवधिभर व्यवसाय गर्दा योजना कसरी बनाउने, के गर्ने, कसरी अगाडि बढ्ने लगायत व्यवसाय सम्बन्धी कुराहरु सिकाइने छ । हरियाली मंच नेपाल, ग्रीन फाउण्डेशनको सहकार्य, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको सहयोग र नगर स्तरीय युवा संजाल, स्थानिय युवा परिषद्को आयोजनामा सुरु भएको तालिम भोलीसम्म संचालन हुनेछ । उद्घाटन कार्यक्रमको सहजीकरण नगर स्तरिय युवा संजालका सचिव प्रेरणा परियारले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस्