१९ फागुन,घोराही -नेपाली कांग्रेस दाङले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ । जिल्ला सभापती शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मुलुकको समसामयिक अवस्था तथा आसन्न स्थानीय तह निर्वाचनका विषयमा सहभागी वक्ताहरुले भनाई राख्नुभएको थियो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएपछि पहिलो पटक दाङमा आउनुभएका सभापति पुनले नेपाली कांग्रेस नवीन विचार र जोशका साथ अघि बढेको बताउनुभयो । चौधौँ महाधिवेशन पछि पार्टीले नयाँ जीवन पाएपछि यसको सकारात्मक प्रभाव गाउँ वडा तहसम्म पुगेकाले आसन्न स्थानीय तह निर्वाचनमार्फत पार्टीलाई अझ उचाईमा पुर्याउन सबै लाग्नुपर्ने बताउनुभयो ।
विगतमा भएका कमी कमजोरीलाई औँल्याउदै गल्ती नदोहोरिने गरि मनमा रहेका तिक्तता त्याग्दै बलियो कांग्रेस बनाएर अघि बढ्न अपिल गर्नुभयो । जिल्लाभरबाट सहभागी भएकाहरुले बुँदागत रुपमा सुझाव दिनुभएको थियो । सहभागीहरुबाट उठेका जिज्ञासा र सुझावलाई मध्येनजर गर्दै विभिन्न तहका नेताहरुले पनि धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गर्नुभएको थियो ।।