१९ फागुन,घोराही ।
जिल्ला वन कार्यालय दाङले डढेलो बिरुद्धको अभियान शुरु गरेको छ । जिल्लामा आगलागिका घटना बढेपछि कार्यालयले डढेलो नियन्त्रणका कार्यक्रमहरु सुरु गरेको हो ।
यो बर्ष डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालनका लागि प्रयाप्त बजेट नभएपनि भएका स्रोत सामग्रीहरुलाई उपयोग गर्दै डढेलो नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरिने डिभिजन बन कार्यालयका घोराहीका प्रमुख विजयराज सुवेदीले बताउनु भएकोे छ ।
उहाँका अनुसार डढेलो नियन्त्रण उपकरण खरिदका लागि एक लाख ८० हजार रुपैया बजेट रहेको छ भने प्रशिक्षण लगाएतका कार्यक्रमका लागि सात लाख रुपैंया बजेट रहेको छ । हाल उपकरण खरिद गरिसकिएको र प्रशिक्षणका कार्यक्रमहरु चलाउन सुरु गरिएको उहाँले बताउनुभयो ।
यस्तै यो बर्ष पनि जिल्लाको बढी आगलागी हुने जोखिम वन क्षेत्रमा अग्नी रेखा निर्माण गर्ने कार्यक्रम रहेको छ । करिव २५ किलोमिटर वन क्षेत्रमा अग्नी रेखा निर्माण गरिने भएको हो ।
फागुन, चैत बैशाख र जेठ महिना आगलागीका घटना अत्याधिक हुने महिना भएकाले समूह, सञ्जाल र जनशक्तिलाई तयारी अबस्थामा राखेको उहाँले बताउनुभयो ।
जिल्लामा ३२४ सामुदायिक वन समुह ६ वटा धार्मिक वन समुह तथा तीन सय भन्दा बढी नीजि वन समुहलाई सचेत रहन डिभिजन वन कार्यालय दाङले आग्रह गरेको छ ।।