१७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङनीमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । एक वडा एक स्वास्थ्य केन्द्रको नीति लिएको घोराही उपमहानगरपालिकाले वडा नम्बर ३ को शहरी स्वास्थ्य केन्द्रको औपचारीकरुपमा उद्घाटन गरेको हो । वडा अध्यक्ष माधबप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले केन्द्रको उद्घाटन गर्नुभएको हो । यस अघि बाटै सेवा दिई रहेको केन्द्रको उद्घाटन भने आज भएको हो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले आधारभूत स्वास्थ्य सेवा आफ्नै वडाबाट नागरिकहरुले प्राप्त गरुन भन्ने उदेश्य रहेको बताउनुभयो । जनप्रतिनिधी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयसेविकाहरुले स्वास्थ्य क्षेत्रमा बिषेश ध्यान दिदै वडाका नागरिकहरुको सहज पहुँच स्थापित गराउन आग्रह गर्नुभयो । कुनै पनि नागरिक उपचारबाट बन्चित हुन नपर्ने भन्दै उहाँले अधिकतम सेवा दिन तर्फ ध्यान दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा केन्द्रका अहेब शैलेन्द्र खनालले केन्द्रबाट ५ हजार ७ सय १६ जनाले विभिन्न उपचार सेवा लिएको जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले जनस्वास्थ्य नै ठूलो सम्पत्ती भएको बताउनुभयो । भएका स्रोत साधनको अधिकतम प्रयोग सँगै स्वास्थ्य सचेतना जगाउने तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण केन्द्रका प्रमुख गोपिलाल वलीले गर्नुभएको थियो