२०८१ चैत्र १३ गते बुधवार

दाङकी ज्योति केसीको कमालः नेपालको पहिलो अन्तरिक्ष यात्री बन्दै



१८ असार, दाङ – दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकी २७ वर्षीया ज्योति केसी अन्तरिक्षयात्री बन्ने भएकी छन्। कक्षा १० सम्म लालमटियामा रहेको मुनलाइट स्कुलमा अध्ययन गरेकी उनले प्लस टु बुटवलबाट गरेकी थिइन्। ५ वर्षअघि उनी ‘डिभी’ चिठ्ठा परेपछि अमेरिका गएकी थिइन्।

उनी अमेरिका पुगेको २ वर्षसम्म रोजगारी गरिन्। त्यसपछि उनी अमेरिकी वायुसेनामा छनौट भइन्। उनले भनिन्, ‘म एयरफोर्स जान लागेको घरपरिवार कसैलाई पनि जानकारी दिइनँ। किनकि त्यो लामो प्रक्रिया रहेको थियो। मैले पहिलोपटक तयारी गर्दा म ३५ किलो मात्र थिएँ। त्यहाँ छनौट हुन ५० किलो हुनुपर्थ्यो। परीक्षा दिएर नाम निकाल्नुपर्ने हुन्छ। त्यसमा पनि राम्रो अङ्क आएन। फेरि मैले ३ महिनामा ५० किलो तौल पुर्‍याएँ। दोस्रो पटकमा छनौट भए। म छनौट भएपछि मात्र बुबाआमालाई जानकारी दिएँ।’

त्यसपछि फेरि स्वास्थ्य परीक्षण भयो। त्यसमा पनि पास भएपछि मेरो पृष्ठभूमि जाँच भएको थियो। त्यो सबै गर्न करिब १४ महिना लागेको उनको भनाइ छ। त्यसपछि उनलाई वायु सेनाको जागिरकै क्रममा अन्तरिक्षयात्री बन्ने अर्को अवसर पनि मिल्यो।

त्यसपछि उनी त्यसका लागि अध्ययन गर्न पोल्याण्ड गइन्। अन्तरिक्षयात्री बन्नका लागि २ हप्ताको तालिममा सहभागी भइन्। २७ वर्षीया उनले भर्खरै एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च पूरा गरेकी छन्। उनले उक्त रिसर्चले आफूलाई राम्रो अनुभव दिएको पनि बताइन्।

उनले भनिन्, ‘ एयरफोर्समा भएका मेरा साथीहरूले यो रिसर्च एक वर्षअगाडि गरेका थिए। त्यो वेला मेरो समय मिलेको थियो। यो वर्ष मैले आफैंले समय मिलाएर गरेकी हुँ। मलाई यसमा एयरफोर्सले निकै सहयोग गरेको छ।’ उनले आफ्नो युनिटको आफू यो रिसर्च गर्ने पहिलो व्यक्ति भएको पनि बताइन्। पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेकी उनी अब नासासँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजना रहेको बताइन्।

उनी अहिले दाङ आएकी छन्। करिब एक महिनाको बिदामा घरपरिवारलाई भेट गर्न आएको उनको भनाइ छ। उनले भनिन्, ‘त्यहाँ पुग्ने मेरो जीवनको लक्ष्य हो तर मलाई त्यहाँ पुग्न कति समय लाग्छ, थाहा छैन। त्यो मैले एक दिन जति समय लागे पनि पूरा गर्नेछु।’ उनले आफूलाई अवसर आएको र त्यसैलाई सदुपयोग गरेको पनि बताइन्।

उनले मौका एकपटक मात्र आउने भएकाले पनि त्यही मौका पूरा गर्न घरपरिवारको साथ सहयोग पाएको बताइन्। उनले भनिन्, ‘घरमा ढिला उठ्दा बुबाले सधैँ भन्नुहुन्थ्यो। मानिस बिहानै उठेर अन्तरिक्षमा पुगिसके। तिमीहरू अझै बिस्तराबाट उठेका छैनौ। त्यो भनाइ नै मेरो मनमा छापा बसेको थियो। जसले गर्दा पनि आज त्यस्तै भयो। म अब अन्तरिक्षमा पुग्न लागेकी छु।’

यस्तै उनले कुनै पनि व्यक्ति आफ्नो लक्ष्यमा पुग्नको लागि आफू जहाँ छ, त्यहीबाट गर्नुपर्ने बताइन्। उनले कुनै पनि काम गर्नको लागि टिम बनाएर जाँदा सफल हुने पनि बताइन्। उनले आफू मात्र नभई सबैको साथ सहयोगबाट नै अगाडि बढ्न सकिने पनि बताइन्। उनले भनिन्, ‘ मैले एक्लै संघर्ष गरेर यो ठाउँमा पुग्नका लागि ३ देखि ५ वर्षको समय लागेको छ। सबैको साथ र सहयोग मिलेका एक वर्षमै गर्न सकिन्छ।’ ।।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्