२०८२ बैशाख १० गते मङ्गलवार

घोराहीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु



१८ फागुन,घोराही – घोराही उपमहानगरपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित खेल मैदानमा श्री माध्यमिक विद्यालय रझेनाको आयोजनामा प्रतियोगिताको एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य भरतमणि अर्यालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी न्यौपानेले खेल क्षेत्र मानव स्वास्थ्य र अनुशासन कायम गर्न मार्ग निर्देश गर्ने प्रमुख आधार रहेकाले बालबालिकाहरुमा खेल अनिवार्य रहेको बताउनुुभयो । विद्यालय स्तरबाट खेलकुुदमा जोड्दै स्वस्थ नागरिक उत्पादनमा पालिकाले लगानी गर्दै आएको उहाँको भनाई थियो । खेलकूद मानव स्वास्थ्यका लागि अपरिहार्य बताउँदै विद्यालय तहबाटै यसको आकर्षण बढाउन यस प्रकारका प्रतियोगिता निरन्तर आवश्यक रहेकोमा जोड दिनुभयो ।

खेल क्षेत्रबाटै खेलाडीले आफ्ना नाम देश विदेशमा स्थापित गराउन सक्ने हुँदा यो राष्ट्रको पहिचानसँग जोडिने विषय रहेको चर्चा गर्दै घोराही उपमहानगरले एक वडा एक खेल मैदान बनाएर खेल प्रति युवाहरुको आकर्षण बढाउने काम गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद महाशाखाका अधिकृत नारायणप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपाने, विद्यालयका शिक्षक अभिभाबक संघका सदस्य मातृका पाण्डेले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा खेल प्रतिको आकर्षण बढ्ने र मेलमिलापको समेत विकास हुने बताउनुभयो । फागुन २१ गते सम्म चल्ने प्रतियोगितामा दुई दर्जन बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिवल, कवड्डी र एथलेक्टिसका खेलहरु हुनेछन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्