१८ फागुन,घोराही – दाङमा शिवरात्रीकै दिन दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–धारापानी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना र गढवामा कारको ठक्करबाट एक जना गरी दुई जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
घोराही–धारापानी सडकखण्ड अन्तर्गत घोराही–१७ कर्जाहीमा रा ४ प २७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट घोराही–१५ का १८ वर्षिय अजय चौधरीको मृत्यु भएको छ ।
धारापानी मेला गएका चौधरी अटोमा चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा हिजो साँझ नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । ठक्करपछि मोटरसाकइललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै गयराती देउखुरीमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुर की १० वर्षिया सन्ध्या चौधरीको मृत्यु भएको हो ।
मृतक चौधरी र अन्य दुई जना राती साढे दश बजेको समयमा रा ३ प ३४६१ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । गोबरडिहा शिवरात्रिको मेला हेर्न जान लागेका उनीहरु सवार रहेको मोटरसाइकल गढवा गाउँपालिका वडा नम्बर २ महदेवा पुल नजिक विपरित दिशाबाट आइरहेको लु २ च ७६८२ नम्बरको कारसंग ठोक्किएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी सन्ध्याको लमहीमा उपचारका क्रममा गएराती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका ४ सगरापुरका मोटरसाइकल चालक ४५ वर्षिय जयराम चौधरी, सोही ठाउँ निवासी बेद कुमारी चौधरी घाइते भएका छन् ।
दुवै जनालाई लमही स्थित फ्लोरेन्स अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।