१९ माघ,काठमाडौं ।
निर्वाचन आयोगले चुनाव तयारीको विषयमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले निर्वाचनका लागि दल दर्ताको प्रक्रिया अघि बढाउने विषयमा पूर्वआयुक्तहरुसँग सुझाव लिएको हो । छलफलमा नेकपा विवाद समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने उनीहरुले सुझाएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएको बताए । निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने उनको भनाइ छ ।
त्यस्तै पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेकपाको विवाद टुंगाएर मात्रै निर्वाचनामा जानुपर्ने सुझाव दिएको बताए ।
“दलको द्न्वन्द्व दलद्वारा नै समाधान गर्नुपर्छ । नेकपा विभाजित भएको मनस्थितिमा रहेको र विभाजित नभइसकेको अवस्था छ । कि एउटै भएर दल दर्ता गर्न आउन सक्ने अवस्था छ भने एकीकरणका लागि बोलाउनुस्, एउटै गराउनुस्, “आयोगलाई दिएको सुझावबारे उप्रेतीले भने, “एक हुन सक्ने अवस्था नभए दुई हुनका लागि सहयोग माग्नुस् । विधिले जुन पक्षलालाई आधिकारिक मान्छ त्यो दिनुपर्यो । अर्को पक्षलाई अर्को दल दिनुपर्यो । निर्वाचनमा जानुपर्यो भने उहाँहरुलाई सहभागी हुने अवस्था सिर्जना गर्नुस् । किचलो समाधान गरेर लानुपर्छ । चुनावमा सहभागी गराउनुपर्छ ।”
सत्तारुढ दलको विवाद थाती राख्दा लोकतन्त्र र शान्तिपूर्ण निर्वाचन हुन गाह्रो पर्ने भएकाले विवाद समाधान गरेर निर्वाचनमा जानुपर्ने उनले बताए । उप्रेतीले समस्या सिर्जना गरेर आयोगको थाप्लोमा विवाद छाडेर पन्छिन नमिल्ने बताए ।