१९ माघ,घोराही ।
नेपाल पत्रकार महासंघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले मुलुकको शासकीय स्वरुपमा सरकार वा विपक्षबाट अंकुश लगाउने काम भएमा महासंघ चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । संघीयता र संघीयता र गणतन्त्रको पक्षधर पत्रकार र पत्रकार महासंघले विगतदेखि खेल्दै आएको नेतृत्वदायी भूमिकालाई नजरअन्दाज गर्ने काम पटक पटक हुने गरेकाले महासंघ थप चनाखो हुनु पर्ने बेला आएको जिकिर गर्नुभयो ।
नेपाल पत्रकार महासंघ शाखाको २८ औं साधारण सभाको उद्घाटन समारोहमा राजनीतिक दलबाट वा कुनै पनि निकायबाट ठूला बलिदानीबाट प्राप्त उपलब्धीमाथि प्रहार गर्नेमाथि पत्रकार र संचारमाध्यम पहरेदार बनेर उभिनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएको उपाध्यक्ष पोख्रेलले अहिलेको लोकतान्त्रिक संविधानले पूर्ण प्रेस स्वतन्त्रता लेखेपनि २०४७ सालको संविधानले प्रत्याभुत गरेको विषयबस्तुलाई पनि मार्ने कामको षडयन्त्र गरिरहेको प्रति आपत्ति जनाउनुभयो ।
संविधानको जगमा बनाईने कानून निर्माणका नाममा देशका केही पालिकाहरुले निहित स्वार्थ पूरा गर्न सरोकार निकायसँग छलफल परामर्शसमेत नगरेर आफु खुशी कानून बनाउने र राज्यको चौथो अंगलाई कमजोर पार्ने षडयन्त्रमा लागेको प्रति उहाँले आक्रोश पोख्नुभयो ।अहिले प्राय जसो केही निहित स्वार्थमा लागेकाहरुले जस्केलाबाट कानुनको ड्राफ्ट बनाउने काम गरिरहेको प्रति महासंघ असन्तुष्ट बनेको उहाँले टिप्पणी गर्नुभयो ।
यस्तै, उहाँले संघीयताको अभ्यासको अनुभूति जिल्लामा रहेका संचारमाध्यमले गर्न नपाएको अनुभव राख्नुभयो । संघीयता भनेको अधिकारको बाँडफाँड भएपनि अहिले पनि कुनै पनि पालिकाले कुनै विज्ञापन गर्नु परेमा केन्द्र धाउने बानी नछाड्दा स्थानीय संचारमाध्यम प्रभावमा परेको बताउनुभयो ।
यसैबीच, पत्रकार महासंघले गरेको विधान शंशोधनले अब जिल्ला, प्रदेश र केन्द्रको एकै पटक नेतृत्व प्रत्यक्ष रुपमा छनौट गर्न सक्ने लोकतान्त्रिक प्रकृया प्रारम्भ भएको बताउनुभयो । महासंघको साधारण सदस्यले पनि अब प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिन पाउने र आफुलाई मन परेको उम्मेदवार छान्न पाउने व्यवस्था कायम भईसकेको जानकारी गराउनुभयो ।यस्तै, कार्यक्रमका विशिष्ट अतिथि महासंघका सचिव उदय जिएमले पत्रकारितामा केही विकृति भित्रिएकाले अब महासंघ गम्भीर बन्नै पर्ने बेला आएको तर्क गर्नुभयो । अहिले डिजिटल प्रविधिको युगमा पत्रकारिता नबुझेका, पत्रकारितालाई बदनाम गराउन उद्धत रहेकाहरुबाट मुक्त गर्न आवश्यक रहेकाले सबैले एक पटक समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।यस्तै, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मौसम रोकाले महासंघको विरासतलाई माथि उठाउन साझा प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो। मुलुकको विकास र सुशासनका लागि बनाईने एजेण्डामा सबैले साथ दिनु पर्ने उहाँको भनाई थियो ।