७ असार, घोराही – दाङ महिला जेसीजले आयोजना गरेको “जेसीस सप्ताह–२०२५” को आज विधिगत रुपमा समापन गरिएको छ । जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री राजु खनालको प्रमुख अतिथ्यता रहको कार्यक्रममा साहित्यिक माहोलका बीच सप्ताहको समापन गरिएको हो ।
अम्बिकेश्वरी मन्दिर परिसर भएको कार्यक्रममा साहित्यकार डा. लोकराज पराजुली, दिपक शर्मा (समिर), शारदा शर्मा, सन्ध्या रेग्मी र विणा रोका क्षेत्रीले आफ्ना सशक्त साहित्यिक सिर्जनाहरू वाचन गरेर माहोललाई अझ जीवन्त बनाउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद खनालले दाङ महिला जेसिजले सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा दिनेसमेत बताउनुभयो। उहाँले जेसीज संस्था युवाको नेतृत्व विकास, सामाजिक चेतना अभिवृद्धि र समावेशी सहभागिताको उत्कृष्ट नमुना भएको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि संविधानसभा सदस्य अनिता देवकोटाले महिलाले नेतृत्व गरेर समाजमा परिवर्तन ल्याउन सकिने उदाहरण दाङ महिला जेसिजले प्रस्तुत गरेको बताउँदै संस्थाको निरन्तर सफलताको शुभकामना दिनुभयो ।
उहाँले सामाजिक रुपान्तरणमा यस्ता अभियानको महत्व उल्लेख गर्दै स्थानीय तहले समेत यस्ता संस्थाहरूसँग सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।
अर्का विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेसीजले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै युवालाई जिम्मेवार र रचनात्मक बनाउने अभियानको प्रशंसा गर्नुभयो।
यस्तै, विशिष्ट अतिथी नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले जेसीजले सञ्चार क्षेत्रसहित अन्य सामाजिक क्षेत्रमा पु¥याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दाङ महिला जेसिजकी संस्थापक अध्यक्ष निर्मला गौतमले संस्थाको प्रारम्भदेखि अहिलेसम्मको यात्रा स्मरण गर्दै अहिलेको सक्रिय नेतृत्वप्रति खुशी व्यक्त गर्नुभयो।
जेठ ३१ गते उदघाटनसँगै रक्तदान कार्यक्रम गरेर जेसीज सप्ताह शुरुवात गरेको दाङ महिला जेसीजले दोस्रो दिन असार १ गते घोराही १३ को ज्यामिरे सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम, तेस्रो दिन घोराही १४ झिँगौरामा अपांगता भएकाहरुलाई खाद्यान्न सहयोग गरेको थियो ।
असार ४ गते पाँचौं दिन घोराही ५ धर्नामा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गरिएको छ भने असार ५ गते छैठौं दिन घोराही १७ गैरागाउँस्थित फुटसल मैदानमा महिलाहरुबीच फुटसल प्रतियोगिता सम्पन्न गरेको थियो ।
यस्तै, आज सप्ताह समापनको अवसरमा सहभागी स्रष्टा, अतिथि लगाएत कार्यक्रमको अवधिभर सहयोग गर्ने सहयोगीदाताहरूलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रम संयोजक तालिम निर्देशक आरधाना सिंह ठकुरीको स्वागत एवं सप्ताह मुलसंयोजक लक्ष्मी चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण महासचिव भिमा डिसीले गर्नुभएको थियो ।।