२०८२ असार ९ गते आइतवार

संविधानको मर्म र भावनाअनुसार फैसला आउने प्रचण्डको विश्वास



११ फागुन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनाअनुसार फैसला आउने विश्वास व्यक्त गरेका छन्।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ ९अन्टुफ०ले मंगलबार पेरिसडाँडामा आयोजना गरेको ‘२० औँ मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’मा उनले जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने जिकिर गरे।

प्रतिनिधिसभा विघटन गरिएपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ। प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। केहीदिन भित्रै फैसला आउने अपेक्षा गरिएको छ। ‘नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्’, उनले भने।

संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै उनले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए। दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उनले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने प्रष्ट पारे।

नेकपाको मजदूर फ्रयाक्सन इन्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहेपनि त्यसपछि बनेका सरकारले मजदूरका हक अधिकार सम्बोधन गर्न नसकेको गुनासो गरे।

‘जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो, तर आज तिनै मजदूर बिनापारिश्रमिक कामबाट निष्कासित हुनु परेको छ’, उनले भने। कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो। रासस

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्