२०८२ असार २५ गते मङ्गलवार

वाईसीएल अध्यक्षमा दाङका पुष्प ओली सर्वसम्मत निर्वाचित



२४ जेठ,घोराही –प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष सुबोध शेर्पाली नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकांक्षी थिए । महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले जनाएका छन् ।

२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए । २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भए । ‘ढाडमा टेकेर टाउको’ मा हान्ने पार्टीको प्रत्याक्रमण रणनीतिक योजना अन्तर्गत २०६१ मा गण्डक क्षेत्रमा सरुवा भएका थिए ।

२०६१ माघ १९ मा शाही सरकारले गराएको नगर निर्वाचन बिफल पार्ने क्रममा आन्तरिक बम विष्फोटनमा गम्भीर घाइते भएका थिए । २०६३ मा झक्कु सुवेदीसँगै जिल्ला समिति सदस्य भएर काठमाडौँ सरुवा भए । २०६३ सालमा भक्तपुर वाईसीएल सचिवालय सदस्य भए । २०७४ सालमा रामप्रसाद सापकोटा वाईसीएलको अध्यक्ष हुँदा उनी सचिव थिए । २०७९ सालमा उपमहासचिव तथा प्रचार विभाग प्रमुख भएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्