७ असार, घोराही- नेकपा माओवादी केन्द्र दाङले शुक्रवार एक कार्यक्रमकाबीच वाइसिएल केन्द्रीय अध्यक्ष पुष्प ओलीसहित केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ।
दाङ जिल्ला समन्वय समितिका संयोजक हरिमान पुन (बरुण)को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि आचार्यले वाइसिएलको नेतृत्व दाङबाट हुनु गौरवको विषय भएको बताउँदै यसलाई अवसरको रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
पार्टी केन्द्रीय सदस्य इन्द्रजीत चौधरीले संगठनलाई सन्तुलित ढंगले अगाडि बढाउन सुझाव दिनुभयो भने पूर्वमन्त्री सुषमा शर्मा घिमिरेले युवाहरूको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा अध्यक्ष पुष्प ओलीले विधानअनुसार नयाँ कमिटी गठन गरिएको जानकारी दिँदै वाइसिएलले विपद् व्यवस्थापनका लागि तीनवटा डिभिजन (भूकम्प, आगलागी र बाढीपहिरो ) गठन गर्ने कार्ययोजना रहेको जानकारी दिनुभयो। उद्धार र राहत कार्यमा सामग्री र तालिमसहित परिचालन गरिने योजना रहेको उहाँले बताउनुभयो।
त्यस अवसरमा अखिल क्रान्तिकारी दाङद्वारा संगठनका पूर्व जिल्ला सदस्य तथा वाइसिएल अध्यक्ष ओलीलाई झण्डा हस्तान्तरण गर्दै सम्मान गरिएको थियो।
कार्यक्रममा वाइसिएल नेपालका केन्द्रीय उपाध्यक्ष माधव बस्नेत, उपमहासचिव वीरेन्द्र बिक, सचिवहरू माइकल गुर्ताल र दीपक रोका तथा लुम्बिनी प्रदेश उपाध्यक्ष माधव बुढाथोकीले पनि आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वाइसिएल जिल्ला सचिव विश्वराज आचार्यले गर्नुभएको थियो।