२६ जेठ, घोराही – लुम्बिनीप्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने लक्ष्यसहित बजेट निर्माण कार्यलाई तीब्रता दिएको छ । प्रदेश राजधानी देउखुरीमा जनप्रतिनिधि, सरोकारवाला, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति देखिएको छ । नागरिकहरू आफ्ना क्षेत्रमा आवश्यक पूर्वाधार, सेवा सुविधा र विकास योजनाका मागसहित मन्त्रालयको दैलोमा पुगेका छन् ।
लुम्बिनी प्रदेश सरकारले गत वर्षको तुलनामा यसपटक करिब सात अर्ब घटाएर बजेट ल्याउँदैछ । प्रदेश सरकारले यसअघि प्रदेशसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । उक्त दस्तावेजमा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, ऊर्जा, लघु तथा घरेलु उद्योग, वातावरण संरक्षणलगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ ।
स्थानीयस्तरमा उत्पादन बृद्धि, किसानको पहुँचमा प्रविधि पु¥याउने कार्यक्रम तथा लघु सिंचाई परियोजनामा जोड दिइने, पर्यटकीय क्षेत्रहरूको विकास, पूर्वाधार विस्तार, धार्मिक पर्यटनको प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू समेटिने भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।
मन्त्री ढकालका अनुसार अघिल्ला सरकारले थालनी गरेका तर अलपत्र रहेका योजनाहरूलाई निरन्तरता दिने नीति लिइएको छ । सरकारले गरेका लगानीको सदुपयोग, कार्यक्रमको पुनरावलोकन र अनुत्पादक खर्च कटौती गरी बजेटलाई प्रभावकारी बनाउने तयारी भइरहेको जनाएको छ ।।