६ असार, दाङ – लुम्बिनी प्रदेशमा मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । पोषण अवस्थामा सुधार एवम् बाल तथा मातृ मृत्युदर घटाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयललेस्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको अन्तरक्रिया आयोजना गरेको थियो ।
बढ्दो मातृ तथा बाल मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले जानकारी दिनुभयो । उहाँले पोषण नहुँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै मृत्युसमेत हुने भएकाले सो अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर भएका ५ जिल्लामा पोषण विशेष कार्यक्रम गर्न लागिएको हो । आगामी आर्थिक वर्षदेखि बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । त्यसका लागि मन्त्रालयले आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।।