२२ जेठ, देउखुरी – लमही नगरपालिकाले किसान सूचीकृत गर्न सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ देखि किसानलाई औपचारिक रूपमा सूचीकृत गर्ने कार्यक्रम सुरु गरेको हो । नेपाल सरकारको नीति अनुसार अगाडि बढाइएको यो कार्यक्रम प्रारम्भमा वडा नं. १, २ र ३ मा लागु गरिएको हो ।
कृषि शाखा प्रमुख कमलराज बिसीका अनुसार यस अभियानको मुख्य उद्देश्य कृषकलाई सरकारी सेवा, सुविधा तथा अनुदानमा सहभागी गराउनु, उनीहरूको तथ्याङ्क व्यवस्थित गर्नु र आधुनिक कृषि प्रणालीमा पहुँच पु¥याउनु हो । ‘हामीले यो वर्ष वडा नं. १, २ र ३ मा कार्यक्रम सुरु गरेका छौँ । आगामी वर्षमा अन्य वडामा पनि विस्तार गर्दै लैजाने योजना छ’, प्रमुख बिसीले भने । उनका अनुसार हालसम्म झन्डै तीन हजार कृषक सूचीकृत भइसकेका छन् भने यो सङ्ख्या आगामी महिनामा अझै बढ्ने अपेक्षा गरिएको छ । सूचीकृत किसानलाई किसान परिचयपत्र प्रदान गरिने छ । जसले सरकारी योजना, बिउ, मल, उपकरण, तालिमलगायतका सुविधामा प्राथमिकता दिलाउने छ ।
कार्यक्रममार्फत कृषकहरूको व्यवसायीकरणमा सहयोग पुग्ने र नगरभित्रको कृषि तथ्याङ्क पारदर्शी तथा भरपर्दो हुने अपेक्षा गरिएको छ । फारम भर्न नागरिकता प्रमाणपत्र, भूमि विवरण र उत्पादन हुने बालीको जानकारी आवश्यक पर्नेछ । वडा नं. २ का कृषक मंगल चौधरीले यो कार्यक्रमप्रति आशावादी रहेको बताए । उनले भने, ‘अब मल, बिउ पाउन सजिलो हुनेछ भन्ने आशा गरेका छौँ । नगरपालिकामार्फत् यस्ता कार्यक्रम आउनु राम्रो हो ।’
नगरपालिका प्रमुख जोगराज चौधरीले किसानलाई देशको मेरुदण्ड भएको बताए । उनले भने, ‘किसानबिना संसार चल्दैन । उनीहरूको श्रम र पसिनाले हाम्रो समाज चलेको हो । अब सम्मानमात्रले होइन उनीहरूलाई व्यवस्थित सहयोग गर्नुपर्छ ।’ लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले कृषि क्षेत्रमा मल, बिउ, सिँचाइ सुविधा र प्रविधिमा पहुँच बढाउने कार्यलाई प्राथमिकता दिएको बताइन् । ‘हामी किसानमाथि लगानी गर्न तत्पर छौँ । उनीहरूलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो’, योगीले भनिन् । नगरपालिकाले आगामी वर्षमा वडास्तरमा कृषक क्लब गठन, सिप विकास तालिम सञ्चालन र उत्पादनलाई बजारसम्म पु¥याउने काममा प्राथमिकता दिने योजना बनाएको छ ।
सूचीकृत भएका किसानलाई नेपाल सरकारले रासायनिक मल र उन्नत बिउमा अनुदान प्रदान गर्दै आएको छ । कृषि उपकरणको खरिदमा ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । वास्तविक किसानलाई पाँच प्रतिशतभन्दा नबढ्ने व्याजदरमा शुलभ ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्राकृतिक प्रकोप र अन्य जोखिमबाट बच्न किसानलाई बाली तथा पशुपन्छी बिमा सुविधा उपलब्ध गराइएको छ ।
किसानलाई परिचयपत्र प्रदान गरिँदैछ, जसको आधारमा मल, बिउ, अनुदान, सिँचाइ सुविधालगायतका सेवा सुविधा प्राप्त गर्न सकिन्छ । किसानलाई निःशुल्क र सर्वसुलभ रूपमा कृषि प्राविधिक सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । सरकारले किसानको उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न समर्थन मूल्य तोक्ने व्यवस्था मिलाएको छ, जसले किसानको आम्दानी सुनिश्चितता गर्दछ । किसानले सूचिकृत भएपश्चात् यस्ता प्रकारका फाइदा पाउने छन् ।