३० जेठ, दाङ- नेकपा (माओवादी केन्द्र) विशेष शाखा समिति क्षेत्र नम्बर २ को पहिलो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले २३ सदस्यीय सचिवालय गठन गर्नुका साथै वार्षिक कार्ययोजना पारित गरेको छ।
शाखा समिति अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्य प्रमुख अतिथि रहनुभएको थियो। बैठकमा केन्द्रीय सदस्य हेमराज शर्मा, ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य मस्तबहादुर श्रेष्ठ, जिल्ला सहइन्चार्ज रामबहादुर दहित, जिल्ला संयोजक हरिमान पुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
बैठकमा सचिवालय गठन, कार्ययोजना अनुमोदन, कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँड, सहकारी तथा सामूहिक उत्पादनसम्बन्धी अध्ययन कार्यदल गठन, लेवी व्यवस्थापन, कार्यालय सञ्चालन र विविध विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकले सहकारी र सामूहिक उत्पादन अभियानलाई संगठनको प्राथमिक कार्यदिशा बनाउने, जनस्तरसँगको सम्बन्ध अझ मजबुत बनाउँदै संगठनात्मक विस्तार गर्ने, तथा राजनीतिक प्रभाव विस्तार गर्ने रणनीति अवलम्बन गर्ने निष्कर्ष निकालेको छ।