२७ माघ,काठमाडौं।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई समूहबीच एकपछि अर्को गर्दै आमसभा गर्ने र देशभरबाट मानिसहरु काठमाडौमा ल्याउन होडबाजी चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गर्दै सयौं गाडी रिजर्भ गरेर काठमाडौमा मानिसहरु ल्याएर आमसभा गरे लगत्तै प्रचण्ड नेपाल समूहले पनि २८ माघमा विशाल जनसभा गर्ने तयारीमा जुटेको छ । प्रचण्ड–नेपाल समूहले पनि देशभरबाट काठमाडौमा मानिसहरु उत्तार्ने गरी तयारी थालेको छ । त्यसका लागि धेरैजसो स्थायी कमिटी सदस्यहरु काठमाडौं बाहिर नै रहेका छन् । उनीहरुले नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई काठमाडौ आइपुग्न निर्देशन दिइसकेका छन् । साथै आफूहरुले ल्याउन मानिसको संख्याको बारेमा पनि केन्द्रीय संघर्ष समितिलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
केन्द्रीय संघर्ष समितिले तयार पारेको कार्यतालिका अनुसार मध्यान्ह १२ बजे मूल जुलुश सुरु हुनुअघि राजधानीका पाँच स्थानबाट सहायक जुलुश निकालिने छन् । सहायक जुलुशहरु पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट शुरु हुनेछन् । सहायक जुलुशको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन् । जसअनुसार केशरमहलबाट सुरु हुने जुलुश दरबारमार्ग, जमल, कमलादी, असन, ईन्द्रचोक, न्यूरोडहुँदै मूल जुलुशमा सहभागी हुनेछ भने त्यसको नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायतका नेताले गर्नेछन् । हाम्राकुराबाट