घोराही, २० कात्तिक । घोराही उपमहानगरपालिका वडा १७ डवरीका महिलाहरुले दुना टपरी बनाउदैँ आम्दानी गर्दै आएका छन् । डेढ बर्ष देखि उनिहरुले दुना टपरी बनाएर आम्दानी गर्न थालेका हुन् ।
बन जंगलमा खेर जाने सालको पातवाट दुना टपरी बनाउँदै आएका महिलाहरु आफ्नो कामदेखि निकै खुशी देखिएका छन् । त्रिशक्ति दुना टपरी उद्योग स्थापना गर्दै सामुहीक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको समुहकी अध्यक्ष भावना रावतले बताउनुभयो । उहाँका अनुसार समुहमा आठ जना महिलाहरुको आवद्धता रहेको छ । मागका आधारमा हात र मेसिनले दुना टपरी बनाउने उहाँले जानकारी गराउनुभयो । पछिल्लो समयमा दुनाटपरीको माग बढ्दो भएको जानकारी गराउनुभयो । २०७४ सालमा इपिआरसी नेपालले गाउँका महिलाहरुलाई टपरी बनाउने तालिम दिएको थियो ।
तालिम सकिए संगै महिलाहरुले समुह गठन गर्दे दुनाटपरी उद्योग घरेलुमा दर्ता गरे । दर्ता संगै घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुना टपरी बनाउने मेसिन समुहलाई प्रदान गरेको हो । मेसिन पाए संगै उद्योगको काम अगाडी बढेको छ । अहिले सामुहीक रुपमा हात तथा मेसिन दुवैले दैनिक हजारौ दुना टपरी बनाउदैँ आएका छन् । अहिले दुनाटपरीको मागलाई पुर्तीगर्न धौ–धौ भएको उनिहरुको भनाई छ ।
जिल्लाका दुवै उमहानगरपालिकाका बजार घोराही र तुलसीपुर तथा लमहीवाट समेत माग आउन थालेको छ । गएको तीज तथा दशैको समयमा माग धान्न नसकेको समुहमा आवद्ध रहेका महिलाहरुको भनाई छ । “अहिले हामीले माग अनुसार सामान बनाउन सकिरहेका छैनौं ।’–अध्यक्ष रावतले भन्नुभयो” । सिजनको समयमा माग धान्न समस्या हुने भनाई छ । चाडपर्व, पुजा, बिहे जस्ता कामका लागि दुना टपरीको माग हुने गरेका छन् । यसका साथै बिभिन्न होटेलहरुले समेत दुना टपरीको माग गर्ने गरेका छन् ।
एउटा टपरीको मुल्य तीन रुपैँया रहेको छ भने दुनाको मुल्य एउटाको एक रुपैँया कायम गरिएको समुहकी अध्यक्ष रावले जानकारी गराउनुभयो । हरियो दुना टपरीको माग गर्नेहरुका लागि हातले तयार गरिन्छ भने सुकेको दुना टपरी भए हुने ठाउँमा मेसिनबाट बनाउदैँ आइएको छ । अहिले मेसीनवाट तीन थरीका दुना टपरी बनाउदै आएको समुहकी उपाध्यक्ष उमा रावतले बताउनुभयो । टपरी, मम, र चार्ट साइजका मेसिनले बनाइन्छ ।
मेसिनवाट बनाउनका लागि पातलाई सुकाएर तयार पारिने उपाध्यक्ष रावतले बताउनुभयो । उत्पादन सुरु भएसंगै अहिले सम्म लाखौ रुपैँया आम्दानी भएको उहाँले जानकारी गराउनुभयो । “पहिलेवाटै दुना टपरी बनाउने काम गर्दे आएका थियौ–तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडी बढेका छौँ ।”उहाँले भन्नुभयो । दुनाटपरी बनाउने काम सुरु गरेसंगै आर्थिक रुपमा सवल बन्दै गएको उहाँको भनाई छ ।
मासिक रुपमा आम्दानीको रकम समुहमा आवद्ध भएकाहरु सबैले वाँडफाँड गर्ने गरिएको भन्दै उहाँले समुहमा बचत गर्ने गरेको जानकारी गराउनुभयो । व्यावसायिकतामा लागे संगै दैनिकी यही काममा बित्ने गरेका छन् । पहिले चुरा टिका किन्न समेत श्रीमान संग माग्नु पर्दथ्यो, तर अहिले आफै कमाउन थालेपछि सहज भएको उहाँले अनुभव सुनाउनुभयो । व्यवसाय गर्ने हो भने आर्थिक स्थिती मजवुद बन्ने अनुभव समुहमा आवद्ध रहेका महिलाहरुको छ । यस्तै समुहकी सदस्य सरस्वती घिमिरेले समुहमा महिला दिदी बहिनी सगै मिलेर दुना टपरी बनाउने काम गर्दा आम्दानीका साथमा रमाइलो समेत हुने बताउनुभयो । “पहिले बसेर दिन बित्ने गरेका थिए, भने अहिले आर्थिक आम्दानी हुने खालको काम गरिएको छ, आम्दानी भएपछि स–साना इच्छाहरु पुरा भएका छन्” घिमिरेले भन्नुभयो । उहाँका अनुसार कोही उद्योगमै लिन आउने गरेका छन् । भने कतै पु¥याउदैँ आइएको छ ।
महिलाहरुले थालेको अभियानलाई अझै प्रचार गर्न सक्ने हो भने बजारमा बढीरहेको प्लाष्टिकको प्रयोगलाई रोक्न सकिने धारणा समुहमा आवद्ध महिलाहरुको छ । बजारमा प्लाष्टिकका प्लेटहरु छ्याप छ्याप्ती पाउने भएकाले आफूहरुले थालेको कामले सधै बजार नपाउने गरेको भन्दै महिलाहरुले दाङ जिल्लामा अरु महिलाहरुले पनि यसलाई अघि बढाउन सके प्लाष्टिकका दुना टपरी प्रयोग गरेर बाहिर जाने रकम रोक्न सकिने धारणा महिलाहरुको छ ।