१७ असार,दाङ- दाङको घोराहीस्थित दाङ भ्याली कलेजले शैक्षिक सत्र २०८२ मा पठनपाठनका विषय बिस्तार गरेको छ । आज मङ्गलबार पत्रकार सम्मेलन गरेर कलेजले शैक्षिक सत्र २०८२ देखि थप गरिएका विषयका बारेमा जानकारी गराएको हो ।
कलेजले कक्षा ११ र १२ मा पठनपाठन गराउँदै आएका विषयमा केही विषय थप गरेको बताएको छ । व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट र मानविकी तथा शिक्षा समूहमा आमसञ्चार (पत्रकारिता) विषय थप गरेको प्रिन्सिपल विष्णु बञ्जाडेले जानकारी गराए ।
‘युग सापेक्ष शैक्षिक आवश्यकतालाई ध्यानमा राखी व्यवस्थापन समूहमा ‘होटल म्यानेजमेन्ट’ र शिक्षा तथा मानविकी समूहमा आमसञ्चार विषय समावेश गरिएको जानकारी गराउन चाहन्छौँ । यी विषयहरूको समावेशले विद्यार्थीहरूलाई सीपमूलक, पेशामुखी र व्यावहारिक ज्ञान प्रदान गर्न मद्दत गर्ने छ ।
हालका वर्षहरूमा विश्वव्यापी रूपमा शिक्षा प्रणाली व्यवहारिकता, प्रविधिमैत्रीता, बहुपरिमाणात्मक मूल्याङ्कन, र सीप विकासमा केन्द्रित हुँदै गएको छ । विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी आविष्कार, अनुसन्धान, र समस्या समाधान क्षमताको विकासमा जोड दिइँदै छ । साथै, दिगो विकास लक्ष्य, समावेशी शिक्षा, र जीवन उपयोगी दक्षता जस्तै सञ्चार, सहकार्य, सोच र सिर्जनात्मकतालाई शिक्षा प्रणालीमा अनिवार्य रूपमा समावेश गरिँदै छ ।’ प्रिन्सिपल बञ्जाडेले बताए ।
साथै कलेजले यस वर्षदेखि बिहानी सत्रमा पनि विज्ञान समूहको पठनपाठन गराउने भएको छ । ‘नवीन सोच र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई आत्मसात् गर्दै कलेजले शैक्षिक सत्रदेखि २०८२ देखि बिहानी सत्रमा विज्ञान समूह अन्तर्गतका कक्षा सञ्चालनमा ल्याउन थालेको जानकारी गराउँछोैँ । जसले कामकाजी विद्यार्थी र विशेष आवश्यकताहरू भएका शिक्षार्थीहरूलाई थप अवसर प्रदान गर्ने विश्वास कलेजले लिएको छ ।’ प्रिन्सिपल बञ्जाडेले बताए ।
पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रमा समर्पित एक अग्रणी संस्थाका रूपमा दाङ भ्याली कलेज विगत २६ वर्षदेखि गुणस्तरीय, व्यवहारिक र युग सुहाउँदो शिक्षाको अवलम्बन गर्दै आइरहेको बताइएको छ । कलेजले २०६७ सालदेखि स्नातक तहमा व्यवस्थापन सङ्काय अन्तर्गत बिबिएस सञ्चालन गर्दै आएको छ । साथै शैक्षिक सत्र २०८२ देखि प्ले ग्रुपदेखि कक्षा १० सम्म पनि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरी, कलेजका पूर्व अध्यक्ष निर्मल देवकोटा लगायतले धारणा व्यक्त गरेका थिए ।
दाङ भ्याली एजुकेसन ग्रुपका अध्यक्ष अरुण कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कलेजका संस्थापक प्रिन्सिल सुन्दर गौतमले गरेका थिए ।