२०८२ असार २५ गते मङ्गलवार

दाङमा ५८ वटा समुदायिक विद्यालयमा नयाँ भवन निर्माण



६ असार, दाङ- दाङमा ५८ वटा समुदायिक विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । समुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार कार्यक्रम अन्तर्गत जिल्लामा चालु आर्थिक वर्षको करिव ११ महिनामा ५८ वटा विद्यालयमा नयाँ भवनलगायत संरचना निर्माण गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा सात वटा विद्यालयमा नयाँ भवन, पुस्तालय, शौचालय, खेल मैदान, पर्खाललगायतका पूर्वाधार निर्माण गर्ने कार्यक्रम अन्तर्गत पाँच वटा विद्यालयमा भवन निर्माण गरिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका इन्जिनियर खेम वलीले जानकारी दिनुभयो ।

इन्जिनियर वलीका अनुसार जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २२ वटा विद्यालयमा भवन निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ३१ वटा विद्यालयमा नयाँ भवन, पुस्तकालय, खेल मैदान, पर्खाललगायतका पूर्वाधार निर्माण गर्ने कार्यक्रमअन्तर्गत २२ बटा भवन, पुस्तकालय, खेल मैदानलगायतका संरचना निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार बाँकी दुईवटा विद्यालयमा सम्झौता हुन नसकेको र सात वटा विद्यालयमा निर्माणको काम भइरहेको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा २१ विद्यालयमध्ये १२ वटा विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । ठेक्का सम्झौता भएका नौ वटा विद्यालयमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको इन्जिनियर वलीले बताएका छन् ।

उहाँका अनुसार जेठ महिनासम्म लमहीमा ठेक्का लागेका छ वटामध्ये चार वटा, बबई गाउँपालिकामा ११ वटा विद्यालयमध्ये ११ वटा, शान्तिनगरमा पांच विद्यालयमध्ये तीन वटा र गढवामा चार विद्यालयमध्ये तीन वटा विद्यालयको भवन निर्माण गरिएको छ ।

इन्जिनियर वलीका अनुसार बंगलाचुलीमा आठ वटा, राप्तीमा दुई वटामध्ये एउटा र राजपुरमा एउटा विद्यालयको भवन निर्माण गरिएको छ । पुराना, जीर्ण र कच्ची भवनका कोठामा विद्यार्थी राखेर पठनपाठन गर्न समस्या हुने भएपछि प्रदेश सरकारले नयाँ भवन निर्माणमा विद्यालयालाई सहयोग गर्दै आएको छ ।। गोरखापत्रबाट

प्रकाशित मिति : २०८२ असार ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्