२० कार्तिक । दाङमा बडा दशै पछि दैनिक एक जनाको दरले कोरोना सङ्क्रमितको मृत्यु हुने गरेको छ । दशै अघि सम्म थोरै संख्यामा जिल्लाका कोरोना संक्रमितको मुत्यु हुने गरेको थियो । तर दशै यता वितेको दश दिनको अवधिमा १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराही दाङले जनाएको हो । केन्द्रको हिजो साँझसम्मको अद्यावधिक विवरण अनुसार दशै अघिसम्म जिल्लाका ६ जना संक्रमितको मृत्यु भएको थियो । जसमा जिल्ला भित्र एक जनाको मृत्यु भएको थियो भने जिल्ला बाहिर विभिन्न अस्पतालमा ५ जनाको उपचारकै क्रममा मृत्यु भएको केन्द्रका सुचना व्यवस्थापन अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । कात्तिक १० गते यता घोराही,तुलसीपुर, राप्तीका गरी १० जना सङ्क्रमितको मृत्यु भएको हो ।
ती मध्ये नौ जनाको जिल्ला बाहिर बाँके, बुटवल र काठमाडौमा उपचारकै क्रममा मृत्यु भएको हो भने होम आईसोलेसनमा बसेका एक जनाको मृत्यु भएको उहाले जानकारी दिनुभयो ।केन्द्रका सुचना अधिकारी अर्यालका अनुसार जिल्लामा हिजो साँझसम्म १६ जना सङ्क्रमितको मृत्यु भएको छ । जसमध्ये दुई जनाको जिल्ला भित्र मृत्यु भएको हो । अन्य १४ जनाको जिल्ला बाहिर विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस अघि जिल्लाको घोराहीमा एक जना बेवारिसे शवको कोरोना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म मृत्यु हुनेमा सवैभन्दा धेरै घोराही उपमहानगरपालिकाका रहेका छन् ।
घोराहीका ७जना सङ्क्रमितको कोरोनाकै कारण मृत्यु भएको केन्द्रका सुचना अधिकारी अर्यालले जानकारी दिनुभयो । यस्तैगरी तुलसीपुर उपमहानगरपालिकाका ५ जना, राप्ती गाउँपालिकाका २ जना र लमही नगरपालिकाका २ जना रहेका छन् ।यसरी मृत्यु हुनेमा महिलाको संख्या भन्दा पुरुषको संख्या धेरै रहेको पनि केन्द्रले जनाएको छ । साथै जिल्लामा हिजो साँझसम्मको अद्यावधिक विवरण अनुसार ७९ प्रतिशत कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार जिल्लाका कुल संक्रमित २ हजार २ सय ४० जना मध्ये १ हजार ७ सय ३२ अर्थात ७९ प्रतिशत व्यक्ति कोरोनामुक्त भएका हुन् । जिल्लाभर अहिले ४ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।